काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व सतमा आएको बेला महामन्त्रीद्धय गगन थापा नाफा कमाउने अभिलासका साथ अघि बढ्न खोजेको विषयमा पनि सतहमा आउन थालेको छ । विशेष महाधिवेशनमा खर्च व्यवस्थापनमा बाह्य शक्तिसँगको सहयोग रहेको समेत खुलासा हुन थालेको सो विषयमा सामाजिक संजालदेखि विभिन्न चिया अड्डामा समेत चल्न थालेको स्रोतको दाबी छ । महामन्त्री थापामाथि र विशेष महाधिवेशन पक्षधर पार्टीको विधान, परम्परा र संस्थागत निर्णय प्रक्रियालाई चुनौती दिँदै अघि बढाइएको विशेष महाधिवेशनले कांग्रेसलाई एकताको बाटोभन्दा फुटको संघारतर्फ धकेलेको आरोप लाग्दै आएको छ। यही विवादको केन्द्रमा देखिएका छन्—महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा।
कांग्रेस संस्थापन पक्षले अवैधानिक घोषणा गरिसकेको विशेष महाधिवेशनलाई भृकुटीमण्डपमा सञ्चालन गरेर सभापति शेरबहादुर देउवालाई कमजोर बनाउने रणनीतिमा महामन्त्रीद्वय सक्रिय देखिए। पुस २७ गतेदेखि सञ्चालनमा रहेको उक्त विशेष महाधिवेशनका नाममा केन्द्रिय सम्पादन समिति भङ्ग गरिनु, पार्टी विभाजनतर्फको स्पष्ट संकेत भएको कांग्रेस नेताहरूको बुझाइ छ।
यस परिस्थितिमा सभापति देउवा, कार्यवाहक सभापति तथा संस्थापनइतर समूहका वरिष्ठ नेता डा. शेखर कोइराला भने पार्टीलाई फुटबाट जोगाउने प्रयासमा जुटेका छन्। पार्टीभित्र गहिरिँदै गएको संकट समाधानका लागि उनीहरू निरन्तर संवाद र समन्वयमा रहेको छन् । हाल महामन्त्री थापा र विश्वप्रकाश शर्माबीच आन्तरिक छलफल जारी रहे पनि त्यसले एकता भन्दा शक्ति संघर्षलाई नै प्राथमिकता दिएको प्रष्टै देखिन्छ । विशेष महाधिवशेनले जेनजी आन्दोलनपछिको निष्किृय रहेको नेतृत्व र कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई सक्रिय र आगामी निर्वाचनमा जान सहज वातावरण सिर्जन गरेको समेत चर्चा हुन् थालेको छ । तर पार्टीको नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जान नसकिने अडान निकालेपछि विशेष महाधिवेशन पक्षधरहरुमाथि नै प्रश्न चिह्न खडा भएको छ । सो विषयले कांग्रेसभित्र विवाद र द्वन्द्व निम्त्याउने खेल समेत भएको आलोचना पनि उस्तै छ ।
विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले महामन्त्रीद्वयलाई पार्टी विभाजन गरेर नयाँ नेतृत्व चयन गर्न दबाब दिँदै आएका छन्। तर पार्टी फुटाएर नेतृत्व छान्नु कांग्रेसलाई कमजोर बनाउने बाटो भएको भन्दै स्वयं महामन्त्रीहरूले पनि औपचारिक रूपमा स्वीकार्न नसकिरहेको अवस्था छ।
राजनीतिक वृत्तमा सबैभन्दा बढी प्रश्न उठेको विषय भनेको टिकट वितरणमा हस्ताक्षर अधिकार हो। महामन्त्री गगन थापा विगतदेखि नै सभापति देउवालाई कमजोर बनाउने रणनीतिमा लागेका छन् । सभापतिलाई निर्णय प्रक्रियाबाट अलग गर्नुपर्ने अभिव्यक्ति दिने थापा एमालेसँग सहकार्य नगरी एकल रूपमा अघि बढ्ने रणनीतिमा देखिन्छन्। तर संकटको समयमा गठबन्धन राजनीति अपरिहार्य भएको कांग्रेसको मुख्य नेतृत्वको ठहर छ।
सभापतिलाई शक्तिहीन बनाउन सके निर्वाचनको टिकट वितरणमा पूर्ण नियन्त्रण कायम हुने र आफूले चाहेका व्यक्तिलाई सांसद बनाउने अभियान थापाको प्राथमिकता बनेको चर्चा व्यापक छ। टिकट वितरणमार्फत करोडौँ रुपैयाँ चलखेल हुने सम्भावनालाई देखेर नै यस्तो रणनीति बनाइएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
गम्भीर प्रश्न के उठेको छ भने—महामन्त्री थापाले अहिलेसम्म पार्टी एकताको विषयमा स्पष्ट धारणा किन राखेका छैनन् ? यसको विपरीत, सभापति देउवा र डा. शेखर कोइराला भने कांग्रेसलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा एकल बहुमतसहित सरकार सञ्चालन गर्न सक्ने हैसियत निर्माण गर्नुपर्नेमा केन्द्रित छन्। उनीहरूको निष्कर्ष स्पष्ट छ—एकता बिना कांग्रेसको भविष्य छैन।
आन्तरिक शक्ति संघर्ष, पद र अधिकारको लोभमा फसेको कांग्रेसले समयमै आत्मसमिक्षा नगरे पार्टीको ऐतिहासिक विरासत नै धरापमा पर्ने खतरा बढ्दै गएको छ। अब प्रश्न पार्टी नेतृत्व सामु स्पष्ट छ—कांग्रेसलाई बलियो बनाउने कि व्यक्तिगत महत्वाकांक्षाको बलि चढाउने ?




