देश

विशेष महाधिवेशनमा मतभेद कायमै, त्रिपक्षीय बैठक दिउँसो फेरि बस्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक हाललाई स्थगित भएको छ । सहमतिको खोजीमा जुटेका नेताहरूले दिउँसो पुनः बैठक बस्ने निर्णय गरेका छन् ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर प्रक्रिया अघि बढाइरहँदा अर्को पक्ष भने त्यसलाई स्वीकार्न तयार छैन । यही विवाद समाधानका लागि बिहानदेखि तीन पक्षका नेताहरूबीच संवाद भइरहेको थियो ।

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले प्रारम्भिक रूपमा विषय प्रवेश मात्र भएको जानकारी दिए । उनले भने, “विशेष महाधिवेशन आह्वान गर्नुपर्ने कारण हामीले राख्यौं । उहाँहरूले ध्यानपूर्वक सुन्नुभयो । एजेण्डागत छलफलका लागि दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ ।”

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए । सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी भए भने शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल वार्तामा उपस्थित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *