काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी रहँदा पार्टीको भविष्य, नेतृत्वको वैधता र आन्तरिक एकतामाथि गहिरो बहस सुरु भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा अघि बढेको महाधिवेशन अहिले केवल सांगठनिक कार्यक्रम मात्र नभई कांग्रेसको शक्ति–सन्तुलन पुनःनिर्धारण गर्ने राजनीतिक मोडमा प्रवेश गरेको देखिन्छ।
महाधिवेशनको बन्दसत्रमा प्रस्तुत दुई प्रतिवेदनमाथि ९ वटा समूह बनाएर छलफल भइरहेको छ। समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार तथा विधान संशोधन जस्ता विषयमा केन्द्रित यी छलफलहरू मंगलबार नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्ने तयारीका रूपमा लिइँदै छन्। विशेष महाधिवेशन पक्षधरहरू भने बहुमत प्रतिनिधिको समर्थन आफ्नो पक्षमा रहेको दाबी गर्दै नेतृत्व चयन अपरिहार्य चरणमा पुगेको तर्क गरिरहेका छन्।
बहुमतको दाबी र वैधानिकताको विवाद
विशेष महाधिवेशन पक्षधर नेताहरूले हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेका छन्। प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार आइतबारसम्म २ हजार ६ सय ६२ प्रतिनिधिको हस्ताक्षर भइसकेको छ भने सोमबार थप वृद्धि भएको छ। यही बहुमतको आधारमा मंगलबारदेखि निर्वाचन, अनुशासन र केन्द्रीय समिति भंग गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
तर यही बिन्दुमा कांग्रेसभित्र गम्भीर विवाद देखिएको छ। सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको बोलावट नै विधानविपरीत भएको निष्कर्ष निकालेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनबाट चयन हुने कुनै पनि नेतृत्वको वैधानिकता नहुने स्पष्ट चेतावनी दिएका छन्। उनका अनुसार महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दा नियमित महाधिवेशनको माग गरेका थिए, विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने उद्देश्य थिएन।
नीति बहस र विकासको एजेन्डा
नेतृत्व विवादकाबीच प्रतिवेदनमा समेटिएका नीति र विकासका प्रस्तावहरूले पनि ध्यान खिचेका छन्। महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना गैरआवासीय नेपाली र निजी क्षेत्रको साझेदारीमा अघि बढाउने प्रस्ताव गरेका छन्। १२ सय मेगावाट विद्युत् उत्पादन, मधेसमा सिँचाइ र खानेपानी समाधान तथा पर्यटन प्रवर्द्धन जस्ता सम्भावनालाई अघि सार्दै प्रतिवेदनले दीर्घकालीन विकासको खाका प्रस्तुत गरेको छ।
यस्तै महामन्त्री गगन थापाले ‘जेनजी विद्रोह’लाई नेतृत्वको असफलता, कुशासन र भ्रष्टाचारविरुद्धको विस्फोटका रूपमा व्याख्या गर्दै पार्टीले आत्मालोचना नगरे भविष्यमा झनै गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार विशेष महाधिवेशन कांग्रेस बदल्ने र बदलिएको कांग्रेसमार्फत देश बदल्ने ऐतिहासिक अवसर हो।
संवाद कि टकराव ?
महाधिवेशनले नेतृत्व चयनतर्फ अघि बढेपछि पार्टी विभाजनको जोखिम बढेको भन्दै शेखर कोइरालासहितका नेताहरूले सभापति देउवासँग संवाद बढाएका छन्। कोइरालाले पार्टी ‘फुटको डिल’मा पुगेको भन्दै तत्काल मिलनको प्रयास गर्न सुझाव दिएका छन्। तर अहिलेसम्म संस्थापन र विशेष महाधिवेशन पक्षबीच साझा सहमति बन्न सकेको छैन। तर सभापति देउवा र बरिष्ठ नेता डा.शेखर कोइराला पार्टीलाई बिभाजनबाट रोक्न महामन्त्रीद्धय गगनथापा र विश्वप्रकाश शर्मासँग सम्बादमा जुटेका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन कांग्रेसको नीति, नेतृत्व र संगठनात्मक स्वरूप पुनःपरिभाषित गर्ने निर्णायक घडीमा पुगेको छ। एकातिर परिवर्तन र पुस्तान्तरणको दबाब छ भने अर्कोतिर वैधानिकता र पार्टी एकताको गम्भीर प्रश्न। मंगलबार सुरु हुने नेतृत्व चयन प्रक्रियाले कांग्रेसलाई नयाँ दिशामा लैजाने कि अझ गहिरो विभाजनतर्फ धकेल्ने—यसको उत्तर यही विशेष महाधिवेशनले दिनेछ।




