काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रियातर्फ कदम बढाएपछि पार्टीभित्र नयाँ राजनीतिक तरङ्ग देखिएको छ। भृकुटीमण्डपमा जारी बन्द सत्रले हालको कार्यसमितिको म्याद समाप्त भएको ठहर गर्दै पन्ध्रौं महाधिवेशनसम्मका लागि नयाँ नेतृत्व छान्ने कार्यविधि पारित गरेसँगै आन्तरिक संवाद तीव्र बनेको हो।
विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भई नेतृत्व चयनको बाटो खुलेपछि सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समन्वय र संवाद अघि बढाएका छन्। स्रोतका अनुसार पार्टीलाई विभाजनतर्फ जान नदिने उद्देश्यसहित पछिल्ला घण्टाहरूमा निरन्तर छलफल भइरहेको छ।
सोमबार बिहानै शेखर कोइरालाले आफू निकट पदाधिकारी तथा कानुन व्यवसायीसँग परामर्श गरेका थिए। त्यसपछि उनको पक्षका नेताहरूले महामन्त्री विश्वप्रकाश शर्मासँग भेटेर विशेष महाधिवेशनलाई नेतृत्व चयनतर्फ लैजाने कि नीति तथा संकल्प प्रस्तावमै सीमित गर्ने भन्ने विकल्पमा सहमति खोज्ने प्रयास गरेका छन्।
एक नेताका अनुसार कोइरालाले विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा टुंग्याउने सम्भावनाबारे कुरा उठाएका थिए। विश्वप्रकाश शर्माले भने अर्का महामन्त्री गगन थापासँग छलफल गरेर पुनः संवाद गर्ने जवाफ दिएका थिए।
यसैबीच शेखर कोइरालासहितको टोली सभापति देउवाको निवास महाराजगञ्ज पुगेर हालसम्म भएका संवाद र सम्भावित सहमतिका बिन्दुहरूबारे जानकारी गराएको छ। देउवाले पनि गगन–विश्वसँग आफ्ना तर्फबाट संवाद भइरहेको जनाउँदै छलफललाई निरन्तरता दिने संकेत गरेका छन्।
शेखर पक्षका नेता बद्री पाण्डेले दुवै धारसँग संवाद भएको पुष्टि गर्दै भने, “हामी दिनभरि पार्टीलाई एकताबद्ध राख्ने साझा आधार खोज्न संवादमा थियौँ। अहिलेसम्म ठोस निष्कर्ष निस्किएको छैन।”
हाल बन्द सत्रमा महामन्त्रीद्वयले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल जारी छ। छलफलपछि विशेष महाधिवेशनले नेतृत्व चयनतर्फ जाने कि नीति र संकल्प प्रस्ताव पारित गरेर टुंग्याउने भन्ने अन्तिम निर्णय गर्नेछ। नेतृत्व परिवर्तनकै निर्णय भए विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने र सोही दिन निर्वाचन कार्यक्रम पनि हुने सम्भावना रहेको छ।




