काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुक गम्भीर राजनीतिक संकटमा रहेको उल्लेख गर्दै पार्टीभित्र देखिएको अन्योल अन्त्य गरी एकताबद्ध रूपमा अघि बढ्न आह्वान गरेका छन्। पौष २८ गते जारी हार्दिक अपिलमार्फत उनले प्रतिनिधि सभा विघटनपछि देश र लोकतन्त्रप्रति व्यापक चिन्ता उत्पन्न भएको भन्दै कांग्रेसको भूमिका अझ जिम्मेवार बनेको बताएका छन्।
खड्काले आगामी फाल्गुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई संविधानिक व्यवस्थालाई पुनः लिकमा ल्याउने अवसरका रूपमा व्याख्या गर्दै उक्त निर्वाचन सफल बनाउन कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुनुपर्नेमा जोड दिएका छन्। तर पार्टीभित्र अहिले असहज र अन्योलको अवस्था देखिनु चिन्ताको विषय भएको उनको भनाइ छ। उनले कठिन परिस्थितिमा सही मूल्यांकन गर्दै निकास दिने ऐतिहासिक जिम्मेवारी कांग्रेसले पटक–पटक निर्वाह गर्दै आएको स्मरण गराउँदै राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित पार्टीमाथि फेरि एकपटक ठूलो दायित्व आएको उल्लेख गरेका छन्।
प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टी नीति र नेतृत्वमा आवश्यक परिमार्जन तथा सहज परिवर्तन सम्भव हुने खड्काको धारणा छ। त्यसैले अहिले नेतृत्व परिवर्तनभन्दा पनि निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका सबै तहका नेता–कार्यकर्ता अभियानकै रूपमा जुट्नुपर्ने उनले बताएका छन्।
कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशदेखि वडा तहसम्मका पार्टी संरचना, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्। वर्तमान विषम परिस्थितिलाई गम्भीर रूपमा लिँदै आन्तरिक असहजता अन्त्य गरेर सम्पूर्ण एकताका साथ अघि बढ्न उनले सबैमा हार्दिक अनुरोध गरेका छन्।





