राजनीति

विषेश महाधिवेशन पक्षधरले एकलौटी रूपमा कार्यविधि पारित गरेपछि संस्थापन पक्षको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन ‘एकताको मञ्च’ बन्नुपर्ने अपेक्षाका बीच उल्टै शक्ति प्रदर्शन र एकलौटी निर्णयको अखडा बन्दै गएको आरोप उठ्न थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट समूहले संस्थापन पक्षको बहिष्कारकै बीच विशेष महाधिवेशनको कार्यविधि पारित गरेपछि पार्टीभित्रको विवाद खुला टकरावतर्फ उन्मुख देखिएको छ।

पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले उक्त कार्यविधि विधान, प्रक्रिया र स्थापित अभ्यासविपरीत भएको भन्दै कडा आपत्ति जनाएका छन्। विशेष महाधिवेशनको नाममा गरिएको यो कदमले पार्टी एकतालाई थप कमजोर बनाएको उनको आरोप छ।

महतका अनुसार संस्थापन पक्षसँग अनौपचारिक संवाद चलिरहेकै बेला त्यसलाई बेवास्ता गर्दै एक पक्षले एकलौटी रूपमा निर्णय गर्नु राजनीतिक अपरिपक्वताको संकेत हो। “विधि, विधान र सहमतिको न्यूनतम मापदण्डसमेत नपुगेको कार्यविधि अघि सारिएको छ,” उनले भने, “यसले विशेष महाधिवेशनको औचित्यमाथि नै प्रश्न उठाएको छ।”

उनले गगन–विश्वप्रकाश समूहले ‘सुधार’ र ‘नयाँ अभ्यास’को नाममा पार्टीको विधानलाई नै छलेको आरोप लगाए। आन्तरिक सहमति नजुटाई बहुमतको आडमा निर्णय थोपर्ने शैली कांग्रेसको लोकतान्त्रिक चरित्रसँग मेल नखाने महतको टिप्पणी छ।

“हामी अनौपचारिक रूपमा सहमतिको प्रयास गरिरहेका थियौँ,” महतले भने, “तर त्यो प्रक्रियालाई नै लत्याएर निर्णय गरियो। अब पार्टीलाई एकताबद्ध राख्ने कि नछोड्ने भन्ने जिम्मेवारी उहाँहरूकै काँधमा गएको छ।”

प्रवक्ता महतले विशेष महाधिवेशनका नाममा गरिएका यस्ता निर्णयहरू संस्थापन पक्षले सहजै स्वीकार नगर्ने स्पष्ट संकेत पनि दिएका छन्। उनले इतर पक्षको आगामी कदम हेरेर मात्रै संस्थापन पक्षले आफ्नो धारणा र रणनीति तय गर्ने चेतावनी दिएका छन्।

कांग्रेसभित्रको पछिल्लो घटनाक्रमले विशेष महाधिवेशन सुधार र एकताको अवसरभन्दा पनि शक्ति संघर्षको माध्यम बन्दै गएको देखिन्छ। सहमतिभन्दा संख्याको बलमा निर्णय लिने प्रवृत्ति हाबी हुँदै जाँदा पार्टीभित्रको अविश्वास अझ गहिरिने र त्यसको प्रत्यक्ष असर समग्र संगठन र सार्वजनिक छविमा पर्ने संकेत स्पष्ट देखिन थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *