राजनीति

डा. शेखर कोइरालाको प्रश्न : के हामीले विशेष महाधिवेशनलाई कांग्रेस एकताको महाधिवेशन बनाउन सक्दैनौँ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको गतिरोधको समाधान नभएसम्म आफ्नो संघर्ष निरन्तर रहने स्पष्ट पारेका छन् । कांग्रेसलाई विभाजनतर्फ होइन, सहकार्य, सहअस्तित्व र एकताको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले जोड दिएका छन् । काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु हुनुअघि भिडियो सन्देशमार्फत बोल्दै डा। कोइरालाले विशेष महाधिवेशनलाई आपसी टकरावको मञ्च नभई कांग्रेस एकताको आधार बनाइनुपर्ने प्रश्न उठाए । “के हामीले विशेष महाधिवेशनलाई कांग्रेस एकताको महाधिवेशन बनाउन सक्दैनौँ ?” भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई गम्भीर आत्ममूल्यांकन गर्न आग्रह गरे ।

उनले पार्टी विधानको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध प्रतिनिधिहरूले एकताबद्ध र सुदृढ कांग्रेस निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्ने विश्वास व्यक्त गरे । पार्टीभित्र देखिएको असन्तोष, नेतृत्व शैलीप्रतिको आलोचना र युवा पुस्ताको अपेक्षाबीच सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

डा. कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग विचारात्मक संघर्ष गर्नुपरेको स्वीकार गर्दै अर्कातर्फ ऊर्जावान् युवा कार्यकर्ताको असन्तुष्टि पनि गम्भीर चुनौतीका रूपमा उभिएको बताए । विशेष महाधिवेशनको अभियानका क्रममा आफूले केन्द्रीय कार्यसमितिमा आफ्ना धारणा लिखित रूपमा राखिसकेको उल्लेख गर्दै उनले पार्टीभित्र कुनै पनि किसिमको विभाजनको सन्देश जान नदिन सबै सचेत हुनुपर्ने बताए ।

बीपी कोइरालाको मेलमिलापको राजनीति कुनै कानुनी दस्तावेजबाट होइन, अन्तरआत्माबाट जन्मिएको स्मरण गराउँदै डा। कोइरालाले आफू एक्लो परे पनि कांग्रेसका अग्रज नेताहरूले देखाएको मार्गबाट विचलित नहुने दृढता व्यक्त गरे । “बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील दाजुले देखाएको पदचाप नै मेरो राजनीतिक मार्गदर्शन हो,” उनले भने । उनको सन्देशले विशेष महाधिवेशनलाई शक्ति संघर्षको केन्द्र होइन, पार्टी पुनर्जागरण र एकताको अवसरका रूपमा उपयोग गर्नुपर्ने सन्देश दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *