राजनीति

विशेष महाधिवेशनको भेलामा कांग्रेसको झण्डा र चुनाव चिह्नको दुरुपयोगपछि गगन–विश्वमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किँदै जाँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको भनिएको ‘विशेष महाधिवेशन’ शीर्षकको भेलालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ । पार्टी विधान विपरीत आयोजना गर्न लागिएको उक्त भेलामा कांग्रेसको झण्डा, चुनाव चिन्ह रुख र आधिकारिक छाप प्रयोग गरिएको भन्दै ती प्रतीकको दुरुपयोग भएको आरोप लागेको हो ।

पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र हुने व्यवस्था छ । तर महामन्त्रीद्वय थापा र शर्माले व्यक्तिगत पहलमा भृकुटीमण्डपमा पुस २७ र २८ गते भेला आयोजना गर्न लागेको भन्दै त्यसलाई अबैधानिक कदमका रूपमा हेरिएको छ ।

उक्त भेलाको व्यवस्थापन ‘नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन–२०८२’ नामक सचिवालयमार्फत गरिएको बताइएको छ । सचिवालयका संयोजक मनोजमणि आचार्यले सार्वजनिक सूचनामार्फत कांग्रेसको चारतारे झण्डा र चुनाव चिन्ह रुख प्रयोग गरेको विषयले पार्टीभित्र असन्तुष्टि बढाएको छ ।

पार्टीका केही नेताहरूले यस कदमलाई अनुशासनहीनता भन्दै आलोचना गरेका छन् । उनीहरूका अनुसार पार्टीको आधिकारिक निर्णयबिनै आयोजना गरिने यस्तो भेलाले संगठनमा विभाजनको जोखिम बढाउन सक्छ । सोही कारण कार्यकर्ताहरूलाई उक्त भेलामा संलग्न नहुन अपीलसमेत गरिएको छ ।

यसअघि सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारको क्रममा रहँदा पनि महामन्त्रीद्वयले राजनीतिक गतिविधि तीव्र बनाएको विषयमा समेत पार्टीभित्र प्रश्न उठ्दै आएको छ । आलोचकहरूले यसलाई नेतृत्व परिवर्तनका लागि गरिएको अस्वाभाविक हतारको रूपमा व्याख्या गरेका छन् ।

भेलाको तयारीका लागि ठूलो आर्थिक खर्च भएको दाबीसमेत गरिएको छ । आयोजक पक्षले सहभागीको नाम दर्ताका लागि एक हजार रुपैयाँ शुल्क तोकेको सूचनामा उल्लेख छ । कांग्रेसभित्र बढ्दो यो विवादले पार्टीको आन्तरिक एकता, विधानको पालन र नेतृत्वबीचको विश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *