काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश बच्ने हो कि होइन भन्ने निराशा पैदा भएको बताएका छन् ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले झण्डै दुई दशकअघि शान्ति र समृद्धिको सपना देखाएर सत्तामा पुगेका दलहरूले देशलाई संकटमा धकेलेको बताएका हुन्।
उनले देश नबेनेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’
उनले देशबाट जनशक्ति मात्र नभई अब पुँजी र उद्यमीहरू समेत पलायन हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले स्वदेशी पुँजी पलायन रोक्न नसके मुलुक असफलताको संघारमा पुग्न सक्ने चेतावनी दिएका छन् । उनले जेनजी आन्दोलनतर्फ संकेत गर्दै युवा पुस्ताको आवश्यकता र भावनालाई सम्बोधन नगर्दा असन्तोष पैदा हुने र त्यसले विद्रोहको रूप लिन बताएका छन् ।
उनले भनेका छन्, ‘जब जब युवापुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिदैन तब तब असन्तोष पैदा हुन्छ। जसले विद्रोहको रुप पनि लिनसक्छ भन्ने सत्य, नेतृत्वले हृदयगम गर्नै पर्दछ। नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो।’




