काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते तय भएको अमेरिका भ्रमण स्थगित गरेका छन्।
मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार भिसा र अन्य आवश्यक प्रक्रिया पूरा गर्न समय अपुग भएकाले हालका लागि अमेरिका नजाने निर्णय गरिएको हो। “प्रक्रियाका लागि समय लाग्ने भएकाले उहाँ अहिलेका लागि अमेरिका जानु हुन्न,” रिमालले स्पष्ट पारे।
यसअघि मन्त्रिपरिषद्ले अमेरिकामा आयोजना हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ विषयक कार्यक्रममा मन्त्री गुप्तालाई सहभागी हुन स्वीकृति दिएको थियो। उक्त कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए समूहले आयोजना गर्न लागेको दाबी गरिएको थियो।
तर सतेन्द्र शाह नेतृत्वको अर्को एनआरएनए–अमेरिकाले मन्त्रीलाई नबोलाइएको भन्दै विवाद उत्पन्न भएपछि भ्रमण अनिश्चित बनेको थियो। भ्रमणको मिति र स्थान पक्का नभएको र माघ ६ मा प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता हुने भएकाले नेपाल फर्कनुपर्ने योजना समेत भ्रमण स्थगनको कारण बनेको जनाइएको छ।




