काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहका नेताहरूको आन्तरिक छलफल सम्पन्न भएको छ। छलफलले पार्टी विभाजनको जोखिम देखिँदै गएको निष्कर्ष निकाल्दै विशेष महाधिवेशन रोक्न नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको छ।
बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा भएको छलफलमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदनकृष्ण श्रेष्ठ, गणेश लामा लगायत सहभागी थिए।
छलफलपछि जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले पार्टीलाई कमजोर बनाउने गतिविधि बढ्दै गएकाले त्यसलाई कसरी रोक्ने भन्ने विषयमा गम्भीर विमर्श भएको बताए।‘इतिहासकै मोडमा कांग्रेस छ। पार्टी विभाजन र कमजोर बनाउन सक्रिय प्रयासहरू भइरहेका छन्,’ उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ। भूराजनीति र राष्ट्रिय परिस्थितिका कारण पनि पार्टी विभाजन हुन नदिन देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय गरिएको छ।’
उनले विशेष महाधिवेशनको नाममा पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्दै त्यस्तो धारणा राख्नेहरूलाई पनि एकतामा आउन आग्रह गर्ने निर्णय भएको बताए।‘विशेषको नाममा पार्टी विभाजन हुन लागेको छ,’ उनले भने, ‘त्यसैले सबैलाई कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निष्कर्षमा पुगेका छौँ।’




