काठमाडौँ । नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद तत्काल समाधान गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ। आज बिहान महाराजगन्जस्थित देउवा निवासमा भेट गर्दै नेविसंघका केन्द्रीय सदस्य तथा युवा नेताहरूले एकता, संवाद र मेलमिलापको पहल गर्न सभापति देउवासमक्ष आग्रह गरेका हुन्।
नेविसंघका अनुसार वर्तमान विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र देखिएका आन्तरिक समस्याले संगठनात्मक एकतालाई कमजोर बनाउने जोखिम बढेको भन्दै समयमै समाधान खोज्नुपर्नेमा युवा नेताहरूले जोड दिएका छन्। उनीहरूले विगतमा आन्तरिक विवादकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै नेतृत्व तह थप सचेत हुनुपर्ने धारणा राखेका थिए।
भेटका क्रममा वर्तमान राजनीतिक चुनौतीको सामना गर्न नेपाली कांग्रेसलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको नेविसंघका केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिए।
युवा नेताहरूले पार्टीलाई मजबुत, अनुशासित र जनमुखी बनाउने दायित्व सबै तहका नेता तथा कार्यकर्ताको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नेतृत्वबाट सकारात्मक पहल अपेक्षित रहेको बताएका छन्।
उक्त भेटमा नेविसंघका केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नविनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायतको सहभागिता रहेको थियो।




