राजनीति

रास्वपासँगको सहकार्यपछि बालेनले लौरो चिह्नलाई निजी स्वार्थमा प्रयोग गरेको अभियान्ताको आरोप

काठमाडौं । स्वतन्त्र राजनीतिको प्रतीकका रूपमा स्थापित लौरो चुनाव चिह्न पछिल्लो समय गम्भीर विवादमा तानिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग प्रधानमन्त्री बन्ने अपेक्षाले सहकार्य गरेपछि सो विषयमा अहिले चौतर्फी आलोचना हुन थालेको हो । मेयर बालेनले उक्त चिह्नलाई राजनीतिक बार्गेनिङ र निजी प्रभाव विस्तारको औजार बनाएको भन्दै स्वतन्त्र अभियन्ताहरूले कडा अलोचना गरेका छन् ।

बिहीबार बुद्धनगरस्थित एक बैंक्वेटमा आयोजित लौरो अभियान, स्वतन्त्र अभियान र जेन–जी अभियानको संयुक्त विशेष भेला तथा पत्रकार सम्मेलनमार्फत अभियन्ताहरूले बालेन साहप्रति कडा आलोचना गरेका हुन्। उनीहरूले अनुसार बालेनको दलगत राजनीतिमा प्रवेशसँगै लौरो अभियानको मौलिक उद्देश्य र स्वतन्त्रताको मर्म कमजोर बनाइएको भन्दै आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा वक्ताहरूले स्पष्ट रूपमा प्रश्न उठाए—स्वतन्त्र आन्दोलनबाट उदाएका एक नेताले दलगत शक्तिसँग सहकार्य गरेपछि पनि स्वतन्त्रताको प्रतीकमा एकाधिकार जमाउन मिल्छ ? उनीहरुले बालेन साह र उनको टिमले रास्वपामा प्रवेश गरेपछि पनि लौरो चुनाव चिह्नलाई आफ्नो राजनीतिक प्रभाव र पहुँचको घेराभित्र राख्ने प्रयास गर्नु , जुन स्वतन्त्र आन्दोलनप्रति बेइमानी भनेका छन् ।

अभियन्ताहरूका अनुसार बालेन साह रास्वपामा प्रवेश गर्नु अघिसम्म लौरो अभियानका प्रमुख स्टेकहोल्डर थिए। तर दलगत राजनीतिमा आबद्ध भएपछि पनि लौरो चिह्नलाई स्वतन्त्र समूहमा औपचारिक रूपमा हस्तान्तरण नगर्नु स्वतन्त्र राजनीतिक संस्कृतिमाथिको प्रहार हो। उनीहरू भन्छन्, “लौरो अभियान व्यक्तिमा केन्द्रित होइन, विचार र आन्दोलनमा आधारित छ।”

कार्यक्रममा लौरो चिह्नलाई केवल चुनावी संकेत नभई स्वतन्त्र उम्मेदवारहरूको आस्था, संघर्ष र साझा पहिचानको प्रतीकका रूपमा व्याख्या गरिएको छ। अभियन्ताहरूले यसलाई ‘स्वतन्त्रहरूको मन्दिर’को संज्ञा दिँदै कुनै पनि लोकप्रिय व्यक्ति वा समूहले यसमाथि निजी स्वामित्व दाबी गर्न नसक्ने बताएका छन्।

विश्लेषकहरूको दृष्टिमा यो विवाद केवल एउटा चुनाव चिह्नको विषय होइन, स्वतन्त्र राजनीति र दलगत शक्तिबीचको वैचारिक द्वन्द्वको संकेत हो। स्वतन्त्रताको नाममा उदाएका नेताहरू जब संस्थागत दलसँग सहकार्य गर्छन्, त्यतिबेला उनीहरूले अघिल्लो आन्दोलनप्रति कस्तो नैतिक जिम्मेवारी बहन गर्नुपर्छ भन्ने प्रश्न यस घटनाले गहिरो रूपमा उठाएको छ।

अभियन्ताहरूले बालेन साह र उनको टिमलाई लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्न आग्रह गरेका छन्। अन्यथा, यसले स्वतन्त्र आन्दोलनको विश्वसनीयता कमजोर पार्ने र भविष्यमा उदाउने स्वतन्त्र राजनीतिक प्रयासहरूलाई नै हतोत्साहित गर्ने चेतावनी उनीहरूको छ।

देशभर फैलिएको लौरो अभियान र स्वतन्त्र आन्दोलनले यस चिह्नलाई राजनीतिक रुपान्तरण र पुस्तान्तरणको प्रतीकका रूपमा प्रयोग गर्दै आएको स्मरण गराउँदै अभियन्ताहरूले स्पष्ट पारे—लौरो कुनै व्यक्ति, गुट वा राजनीतिक दलको निजी सम्पत्ति होइन, यो स्वतन्त्र राजनीतिक चेतनाको सामूहिक धरोहर हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *