देश

महामन्त्रीद्वयले पार्टी निर्णय नमान्दै विशेष महाधिवेशन आह्वान गर्नु अनुशासनहीनता हो : पार्टी प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्र ठूलो राजनीतिक तरङ्ग उत्पन्न भएको छ। पार्टी प्रवक्ता प्रकाशशरण महतले यस घटनाप्रति आफ्नो धारणा सार्वजनिक गर्दै अनुशासन, पार्टी एकता र निर्वाचन तयारीमा यसको प्रभावबारे प्रतिक्रिया दिएका छन्। महतले एक संचारमाध्यममा दिएको अन्तर्वातामा भनेका छन्, “महाममन्त्रीद्वयले पार्टी निर्णय नमान्दै विशेष महाधिवेशन आह्वान गर्नु अनुशासनहीनता हो। यो कदमले पार्टीको हितमा होइन, सामाजिक सञ्जाल र प्रचार–प्रसार मार्फत भ्रम सिर्जना गर्न सक्छ।”

उनले स्पष्ट पारे कि पार्टी प्रवक्ता र जिम्मेवार सदस्यको नाताले पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिनु नै प्राथमिक जिम्मेवारी हो। “भेलासेला गरेर असहमति जनाउनु अलग कुरा हो, तर विशेष महाधिवेशन भन्दै अघि बढ्नु उचित छैन,” उनले भने। महतका अनुसार, नियमित महाधिवेशन समयमै सम्पन्न नभएको कारण कार्यपालिका संशोधन गरिएको थियो। तर महामन्त्रीद्वयले यही जिम्मेवारीमा रहेर पनि विशेष महाधिवेशनको माग गर्नु विडम्बना हो। उनले भने, “अहिले निर्वाचनको मुखमा कांग्रेसले एकताबद्ध भएर आम निर्वाचनमा केन्द्रित हुनुपर्छ। तर यो कदमले कार्यकर्तामा अन्योल र पार्टीभित्र भ्रम सिर्जना गरेको छ।”

विशेष महाधिवेशन आह्वान गर्ने पक्षले सभापति वा कार्यवाहक सभापतिले उद्घाटन गर्नुपर्ने दाबी गरे पनि प्रवक्ताले त्यसलाई असम्भव ठहराए। “कुनै हालतमा केन्द्रीय समितिको निर्णयविरुद्ध पार्टी नेतृत्व जानु हुँदैन,” उनले भने। महतले पार्टीभित्र असहमति भएपनि त्यसलाई संवाद, छलफल र सरसल्लाहबाट समाधान गर्नुपर्ने जोड दिए। उनले भने, “महामन्त्रीहरूले चाहे अनुसार विशेष महाधिवेशन मात्रै हुने भन्ने कुरा सही छैन। नेतृत्वसँग बसेर औपचारिक रूपमै सहमति राखेर समाधान खोज्न सकिन्छ।”

उनले पार्टी एकता, अनुशासन र निर्वाचन तयारीमा खास ध्यान दिनुपर्ने भन्दै, “पार्टीलाई कमजोर बनाउने, विभाजनतर्फ लैजाने कदम  स्वीकार्य छैन् ।   यो बेला पार्टीको प्राथमिकता निर्वाचनमा केन्द्रित हुनु हो,” स्पष्ट पारे। यस विवादले कांग्रेसभित्र संस्थापन र महाधिवेशन पक्षबीच तनाव मात्र उत्पन्न गरेको छैन, तर आम कार्यकर्तामा पनि अन्योल र चिन्ता बढाएको छ। राजनीतिक विश्लेषकहरूले यसलाई पार्टी अनुशासन र नेतृत्व स्थायित्वको परीक्षणको रूपमा हेरिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *