देश

अमेरिका–भेनेजुएला घटनाक्रममा नेपालको अपीलः सैन्य कदमबाट पछि हट्न र कूटनीतिक संवाद रोज्न आग्रह

काठमाडौं । अमेरिका र भेनेजुएलाबीच विकसित हुँदै गएको तनावप्रति नेपाल सरकारले औपचारिक ध्यानाकर्षण गराउँदै सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा तनावलाई थप उकास्ने किसिमका कुनै पनि गतिविधि नगर्न स्पष्ट सन्देश दिएको छ।

मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको बडापत्रले प्रत्याभूत गरेको राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता हो, जसको पूर्ण पालना हुनुपर्नेमा नेपाल दृढ रहेको छ।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानीसहित विभिन्न सहरमा सैन्य कारबाही गर्दै त्यहाँका राष्ट्रपतिको दम्पतीलाई नियन्त्रणमा लिई न्यूयोर्कमा राखिएपछि दुई देशबीचको सम्बन्ध थप तनावग्रस्त बनेको पृष्ठभूमिमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो। सो घटनाप्रति विश्वका विभिन्न मुलुक र अन्तर्राष्ट्रिय समुदायले चासो तथा चिन्ता जनाइरहेका छन्।

नेपाल सरकारले कुनै पनि किसिमका अन्तर्राष्ट्रिय विवाद बल प्रयोगबाट होइन, संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने स्पष्ट धारणा दोहोर्‍याएको छ। दीर्घकालीन शान्ति र स्थायित्वका लागि यही बाटो सबैभन्दा प्रभावकारी हुने निष्कर्षसहित नेपालले दुवै पक्षलाई जिम्मेवार निर्णय गर्न आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *