काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्दै आएका दुई सदस्यको कार्यकाल फागुन २० गते समाप्त हुँदैछ। खुला तर्फ नारायणकाजी श्रेष्ठ र महिला खुला तर्फ भगवती न्यौपाने कार्यकाल पूरा गरी बिदा हुँदैछन्। आगामी निर्वाचनमा पनि यही दुई समूहबाट नयाँ सदस्य चयन हुनेछन्। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार विभिन्न दलहरूले उम्मेदवारी दर्ता गराइसकेका छन्। यस निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेको छ। गण्डकी प्रदेशमा दुवै दलको मतभार दुईतिहाइभन्दा बढी रहेकाले गठबन्धनले दुवै सिट जित्ने सम्भावना बलियो देखिएको छ।
गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ। प्रदेशसभामा कांग्रेसका २७ सांसद छन्, जसको मतभार १ हजार ४३१ हुन्छ। स्थानीय तहमा कांग्रेसबाट निर्वाचित ६६ जना प्रमुख–उपप्रमुखको मतभार १ हजार २५२ पुगेको छ। यता एमालेका २२ प्रदेशसभा सदस्यको मतभार १ हजार १६६ छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिबाट १ हजार ३३० मतभार प्राप्त हुन्छ।
कांग्रेस र एमालेको कुल मतभार जोड्दा ५ हजार १८१ पुग्छ, जुन स्पष्ट रूपमा दुईतिहाइभन्दा बढी हो। अन्य दलहरूको अवस्था भने तुलनात्मक रूपमा कमजोर देखिन्छ। नेकपा ९एकीकृत० का ७ प्रदेशसभा सदस्य र ३० स्थानीय तहका जनप्रतिनिधिको कुल मतभार ९४१ मात्रै छ। राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ भने राप्रपाको मतभार १०६ रहेको छ। प्रदेशसभामा दुई सांसद रहेको राप्रपाले स्थानीय तहमा पनि सीमित प्रभाव राखेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एक प्रदेशसभा सदस्य रहेकाले त्यसको मतभार ५३ मात्र छ।
समग्र मतभारको अवस्थाले गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन अत्यन्तै सहज अवस्थामा रहेको देखाउँछ।




