राजनीति

संकटको घडीमा कांग्रेस र एमालेबिचको सम्बन्ध चिसो पार्ने महामन्त्री थापाको राजनीतिक लाइन

काठमाडौं । मुलुक राजनीतिक, आर्थिक र सामाजिक बहुआयामिक संकटको सामना गरिरहेको बेला इतिहास रच्दै बनेको दलहरूबीचको एकता र सहकार्यलाई कमजोर बनाउने दिशामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको राजनीतिक लाइन अघि बढेको भन्दै पार्टीभित्र र बाहिर तीव्र आलोचना सुरु भएको छ।

संविधान कार्यान्वयन, संघीयताको संस्थागत विकास, सुशासन र लोकतन्त्रको रक्षा जस्ता साझा एजेण्डामा आधारित भएर बनेको वर्तमान सहकार्यलाई ‘असफल’ वा ‘सम्झौतावादी’ करार गर्दै थापाले अघि सारेको धारणा व्यवहारतः राजनीतिक स्थिरताविरुद्ध उभिएको टिप्पणी विश्लेषकहरूले गर्न थालेका छन्।

राजनीतिक अस्थिरता, संसद्‌को अविश्वास र सडकको बढ्दो असन्तोषका बीच दलहरूबीच न्यूनतम सहमति कायम राख्नु आजको अपरिहार्य आवश्यकता मानिन्छ। तर महामन्त्री थापाको अभिव्यक्ति र गतिविधिले सहकार्यभन्दा ध्रुवीकरणलाई प्रश्रय दिएको देखिन्छ। यसले न त कांग्रेसलाई तत्काल लाभ पुर्‍याउने देखिन्छ, न त लोकतान्त्रिक प्रणालीलाई नै मजबुत बनाउने संकेत देखिन्छ।

कांग्रेसभित्रै पनि संकटको समयमा ‘राजनीतिक साहस’ र ‘राजनीतिक हठ’ बीचको भिन्नता छुट्याउनुपर्ने आवाज उठ्न थालेको छ। नेताहरूका अनुसार, इतिहासले बारम्बार प्रमाणित गरिसकेको छ—राष्ट्रिय संकटको घडीमा व्यक्तिगत लोकप्रियता वा गुटीय रणनीतिभन्दा पनि साझा जिम्मेवारी र सहकार्यले मात्र मुलुकलाई सुरक्षित दिशामा लैजान सक्छ।

विश्लेषकहरू भन्छन्, थापाले अघि सारेको लाइन तत्काल पार्टीभित्र चर्को बहस र ध्यान तान्ने माध्यम त बन्न सक्छ, तर यसले कांग्रेसलाई दीर्घकालीन रूपमा जिम्मेवार राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्छ कि संकटको समयमा अस्थिरताको कारकका रूपमा चिनाउँछ भन्ने प्रश्न गम्भीर बनेको छ।

अन्ततः प्रश्न एउटै छ—इतिहासले निर्माण गरेको सहकार्यलाई भत्काएर नयाँ इतिहास लेख्न खोजिँदैछ, कि संकटकै घडीमा पुरानो गल्ती दोहोर्‍याउने जोखिम लिइँदैछ ?यो प्रश्नको उत्तर अब राजनीतिक भाषणभन्दा व्यवहारबाट खोजिनुपर्ने देखिन्छ। पछिल्लो समय महामन्त्ती थापा विशेष महाधिवेशनको विवाद र राष्ट्रिय सभा बैठकमा एमालेसँग गरेको सम्झौतामा समेत विभिन्न टिक्का टिप्पणी गर्दै पार्टीको निर्णयको विरोध जनाइरहेका छन् । महामन्त्ती थापालाई पार्टी कम्जोर बनाउन पछाडीका पात्रहरुले साथ र सहयोग गरेको चर्चा समेत बाहिर सार्वजनिक हुन थालेका छन् । कांग्रेसलाई कम्जोर बनाउने पक्षमा महामन्त्री थापाको साथमा जेनजी अगुवाहरु समेत परिचालित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *