काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर चर्किएको बहसबीच संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले नेता डा. शेखर कोइरालासँग छलफल गरेका छन् । निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने धारणा अघि सारेको यो समूहले इतर पक्षका अगुवा कोइरालासँग सहमतिको बाटो खोज्न संवाद थालेको हो ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा मंगलबार बिहान साढे ८ बजे सुरु भएको भेटवार्ता करिब दुई घण्टा चलेको सहभागी नेताहरूले बताएका छन् । यसअघि सोही समूहले पाँच दिनअघि पार्टी सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गरेको थियो ।
केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार पार्टीभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादलाई टकराव होइन, सहमतिको माध्यमबाट टुंग्याउने विषयमा छलफल केन्द्रित रह्यो । “विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयमा देखिएको तनाव व्यवस्थापन गर्न मध्यमार्गी विकल्प खोज्ने प्रयास भएको छ,” उनले भने ।
उनका अनुसार विवाद समाधानका लागि केही सम्भावित मोडालिटीहरूमा छलफल भए पनि त्यसबारे अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए । “दुई–तीनवटा विकल्प आएका छन्, कसरी अघि बढ्ने भन्नेबारे छलफलमै छ,” शेर्पाले स्पष्ट पारे ।
मोडालिटी अन्तिम रूप पाएपछि पार्टी सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू तथा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको पक्षसँग थप संवाद गरेर निष्कर्ष निकाल्ने तयारी रहेको उनले जानकारी दिए ।
उक्त २५ सदस्यीय समूहले १८ पुसमा सभापति देउवासँग भेट गरेकै दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो । १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर बहस चर्किएका बेला यो समूह निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने अडानमा उभिँदै आएको छ ।




