राजनीति

पर्दापछाडी पार्टी फुटाउने खेलमा सक्रिय महामन्त्री थापा,कांग्रेस कम्जोर भएको हेर्न चाहने शक्तिहरुसँग नजिक दुरी

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक विवाद केवल महाधिवेशनको मितिमा सीमित नरहेको संकेत प्रस्ट हुँदै गएको छ। पार्टी स्रोतहरूका अनुसार, महामन्त्री गगनकुमार थापा पर्धापछाडिबाट कांग्रेसलाई कमजोर बनाउने र सभापति शेरबहादुर देउवाको नेतृत्वलाई निष्प्रभावी बनाउने रणनीतिमा सक्रिय रहदै गएको खुल्न थालेको छ ।

पार्टीभित्रको असन्तोष चुलिँदै गएको बेला थापालाई बाह्य समूह, विशेषगरी ‘जेन–जी’ नामले चिनिने राजनीतिक रूपमा संगठित समूहले खुलेआम साथ दिइरहेको देखिन्छ। कांग्रेसभित्र विवाद चर्किरहेका बेला ती समूहका अगुवाहरू निरन्तर थापासँग भेटघाटमा छन्। पार्टी स्रोतहरूका अनुसार, ती भेटघाटको उद्देश्य कांग्रेसभित्र दबाब सिर्जना गर्नु मात्र नभई आवश्यक परे नयाँ राजनीतिक संरचना निर्माणतर्फ थापालाई उक्साउनु रहेको छ।

थापामाथि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दल दर्ताको मिति लम्ब्याउन दबाब दिएको आरोपसमेत लागेको छ। यसलाई कांग्रेस वृत्तमा ‘राजनीतिक ब्रेकअप प्लान’ को रूपमा हेरिएको छ। थापानिकट नेताहरू र सामाजिक सञ्जालमा प्रभाव राख्ने केही व्यक्तिहरू कांग्रेसबाट थापालाई अलग्याएर वैकल्पिक शक्तिकेन्द्र निर्माण गर्ने प्रयासमा लागेको संस्थापन पक्षका नेताहरुले नै भन्न थालेका छन् ।

जेन–जी समूहका रक्षा वम, प्रदीप ज्ञवाली, उजिन राजभण्डारी, माजिद अन्सारीलगायतका व्यक्तिहरू थापासँग बारम्बार भेटमा देखिनु संयोग मात्र नभएको कांग्रेस नेताहरूको बुझाइ छ। २०८२ पुस १८ गतेको भेटमा समेत कांग्रेसलाई ‘कब्जा’ गर्ने वा कम्तीमा एमालेसँग सहकार्य
गर्न नदिने र पार्टी एकता पनि हुन नदिने सुझाव दिइएको स्रोतहरूको दाबी छ। यही समूह हाल काठमाडौं महानगर प्रमुख बालेन शाहसँग पनि निकट रहेको बताइन्छ। बालेन,रवि र जेनजी अगुवा मानियका हामि नेपालका संयोजक सुदन गुरुङले कांग्रेस र एमालेलाई पत्ता साफ पार्न कै लागि आन्दोलन गरिएको भन्दै बारम्बार महामन्त्री थापासँग भेट हुने गरेको समेत बुझिएको छ । थापा विगतमा पनि बाहिर बसेर पार्टीमाथि हमला गर्दै नेविसंघबाट राजनीतिमा उदायका नेता हुन् । तर पछिल्लो समयमा पार्टी संकटमा परेको बेला नै विभिन्न फण्डा रच्नमा लाग्नुले समेत उनको चर्को आलोचना हुने गरेको छ ।

सरकार र जेन–जीबीच भएको सम्झौतामा पार्टीबाट सहमति जुटाउने वातावरण थापाले नै बनाएको र त्यसका बुँदाहरूको मस्यौदामा थापाको सचिवालय प्रत्यक्ष संलग्न रहेको दाबीले विवादलाई झन् गहिरो बनाएको छ। यसले थापा कांग्रेसभन्दा बाहिरका एजेन्डा बोकेर अघि बढिरहेको आरोपलाई बल पुर्‍याएको छ।

यहीबीच, कांग्रेसका पाँच प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै निर्वाचनमा केन्द्रित हुन सार्वजनिक अपिल गरेका छन्। सभापति देउवाले समेत महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन आग्रह गर्दै विवादलाई विराम दिने प्रयास गरेका छन्। तर महामन्त्री थापा र उनको समूह भने अझै पनि नेतृत्व परिवर्तनलाई सर्त बनाएर अघि बढिरहेको देखिन्छ।

पार्टीभित्र महामन्त्रीको भूमिका संगठन बलियो बनाउने र विवाद समाधान गर्ने हुनुपर्नेमा उल्टै संकटको समयमा पार्टीलाई विभाजनतर्फ धकेल्ने गतिविधिमा थापा सक्रिय देखिएको आरोप संस्थापन पक्षको छ। सक्रिय सदस्यता वितरण, अधिवेशनको ढिलाइ र संगठनात्मक कमजोरीको जिम्मेवारी आफूले लिनु पर्ने ठाउँमा त्यसबाट उम्कन नयाँ राजनीतिक बहस सिर्जना गरिएको टिप्पणी कांग्रेसभित्र खुलेआम हुन थालेको छ।

आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने संकेत महामन्त्री थापाले दिनु, नेतृत्व परिवर्तन नभए आफू पनि मैदानमा नउत्रिने चेतावनी दिनु र बाह्य शक्तिसँग निरन्तर संवाद बढाउनु— यी सबै कदमलाई कांग्रेस वृत्तमा ‘दबाबको राजनीति’ र ‘पार्टीलाई कमजोर बनाउने रणनीति’ का रूपमा हेरिएको छ।

स्वास्थ्य उपचारपछि पुनः सक्रिय राजनीतिमा फर्किएका सभापति देउवाले पार्टी एकता जोगाउन निर्णायक भूमिका खेल्न थालेपछि थापाको गतिविधि झनै शंकाको घेरामा परेको छ। देउवाको अनुपस्थितिमा निष्कर्षविहीन बनेका बैठकहरू, उनको पुनरागमनसँगै निर्णायक बनेको कांग्रेस नेतृत्व र त्यसविरुद्ध देखिएको असन्तुष्टि— यी सबैले कांग्रेसभित्रको शक्ति संघर्ष अब सतहमा आएको स्पष्ट संकेत गर्छ। जेनजी आन्दोलनका क्रममा पार्टीसभापतिमाथि निर्घात कुटपिट हुँदा समेत विभिन्न मिडियामा गएर ताली बजाउने थापा पछिल्लोसमय महामन्त्रीको हैसियतबाट भन्दा पनि केटाकेटी प्रवृतिबाट अघि बढेको समेत टिप्पणी हुने गरेको छ । के महामन्त्री थापाले पार्टीलाई यही नेतृत्व र कार्यशैलीले पाटीलाई कसरी एकताको बाटोमा ल्याउलान ? आगोमा आगो थप्ने काम गर्ने दिशमा महामन्त्री थापाका अभिव्यक्तिहरु दर्ज हुन थालेका छन् । के थापाले कांग्रेसलाई प्रजा परिषद बनाउन खोजेकै हुनु त ? प्रश्न उठन् थालेको छ । महामन्त्रीको जिम्मेवारी सबैलाई एक बनाएर अघि बढाउनु हो तर अहिले महामन्त्री पार्टीलाई चिरा पारेरमात्र स्वतन्त्र रहने आन्तरिक छलफलमा रहेको स्रोतको दाबी छ ।

कांग्रेसभित्र उठेको मूल प्रश्न अब महाधिवेशन कहिले भन्ने होइन, पार्टी विधि र संस्थागत निर्णयबाट चल्ने हो कि केही व्यक्तिको राजनीतिक महत्वाकांक्षाबाट भन्नेमा केन्द्रित भएको छ। यही प्रश्नको उत्तरले कांग्रेसको भविष्य दिशा तय गर्ने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *