राजनीति

आज बस्ने कांग्रेस कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति टुंग्याउला ?

काठमाडौं । नेपाली कांग्रेसले लामो समयदेखि जारी महाधिवेशनको मिति सम्बन्धी विवाद समाधान गर्न आज कार्यसम्पादन समिति (एक्सेक्युटिभ कमिटी) को बैठक बोलाएको छ। चुनाव नजिकिँदै गएपछि महाधिवेशन अघि–पछिको निर्णयमा एकमत बनाउन शीर्ष नेतृत्व आज विशेष छलफलमा बस्न लागेको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले करिब एक महिनादेखि स्थगित केन्द्रीय कार्यसमितिको बैठक रोक्दै आज दिउँसो १ बजे ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक डाकेका हुन्। सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बैठकको मुख्य एजेण्डा महाधिवेशनसम्बन्धी चलिरहेको विवादलाई समाधान गर्ने उपाय खोज्नु हुनेछ।

केन्द्रीय कार्यसमितिमा असोज २८ देखि महाधिवेशन कहिले गर्ने भन्ने विषयमा निरन्तर छलफल चलिरहेको छ। गत कात्तिक १९ मा महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए भने त्यसकै प्रतिवादमा सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७–३० गते गर्ने वैकल्पिक तालिका सार्वजनिक गरेका थिए। एक पक्ष थापाको पक्षमा र अर्को पक्ष यादवको प्रस्तावमा उभिएपछि बैठकले निष्कर्ष निकाल्न सकेको छैन।

बिहीबारसम्म केन्द्रीय सदस्य र पदाधिकारीहरूको धारणा राख्ने क्रम सकिए पनि दुई पक्षबीच एकता नजुटेपछि बैठक आज रोकिनेर शनिबारका लागि सारिएको छ। त्यसअघि विवाद मिलाउने प्रयासस्वरूप खड्काले आज कार्यसम्पादन समिति बोलाएका हुन्।

यता, महामन्त्री थापाले बिहीबारको छलफलमा विशेष महाधिवेशनको मिति मंसिर २७ प्रस्ताव गरेका छन्। यसअघि असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागसहित कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।

आजको कार्यसम्पादन समितिको छलफलले महाधिवेशनको मिति–सम्बन्धी टुंगो कति नजिक आउनेछ भन्नेमा कांग्रेसभित्र विशेष चासो बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *