काठमाडौँ। देशभरको हवाई सेवा आज प्रतिकूल मौसमका कारण व्यापक रूपमा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘इनरुट वेदर’ बिग्रिनुका साथै दृश्यता कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा अवरोध देखिएको हो।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिक उडानतर्फ भरतपुर र तुम्लिङटार विमानस्थल बन्द गरिएको छ भने पोखरा विमानस्थलमा आगमन रोकिनुका साथै ‘डिपार्चर’ मात्रै सञ्चालनमा छ। विराटनगरबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान विराटनगरमै ‘डाइभर्ट’ गरिएको छ भने भैरहवाबाट उडेको अर्को विमान पनि पुनः त्यहीं फर्काइएको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय उडानतर्फ पनि स्थिति सामान्य छैन। नेपाल एयरलाइन्सको नयाँदिल्ली जाने उडान दिल्लीमै डाइभर्ट भएको छ भने इण्डिगो एयरको विमान पनि त्यही दिशामा पठाइएको छ। एयर इण्डियाको उडान लखनऊतर्फ डाइभर्ट भएको प्रवक्ता शेर्पाले बताए। उनका अनुसार हाल त्रिभुवन विमानस्थलको दृश्यता करिब २,५०० मिटरमा सीमित छ, जसका कारण ‘इनरुट वेदर’ बिग्रेर आन्तरिक उडानमा थप कठिनाइ आएको हो।
यसैबीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा देखिन थालेको जनाएको छ। कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेश प्रवेश गरेको उक्त चक्रवात कमजोर हुँदै उत्तर–पश्चिम दिशातर्फ सर्दै नेपालको मध्यभू–भाग नजिक पुगेको छ।
महाशाखाका अनुसार कात्तिक १५ गतेसम्म बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित रहँदै, ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना छ। विभागले सम्भावित जोखिमलाई ध्यानमा राखी सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।




