काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय छलफल सुरु भएको छ। बालुवाटारमा जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ।
छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिलकुमार सिन्हा र शिक्षामन्त्री महावीर पुन सहभागी छन्। जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी केलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का १३ प्रतिनिधि सहभागी छन्।
कार्यसूचीमा आगामी फागुन २१ गते निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने विषयहरू समेटिएका छन्। राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख नेता र प्रतिनिधिहरू सहभागी छन्।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महत, नेकपा (एमाले) का तर्फबाट केन्द्रीय सदस्य महेश बर्ताैला, युवा सङ्घका अध्यक्ष क्षितिज थेवे, नेकपा (माओवादी केन्द्र)बाट नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षामान पुन र माधव सापकोटा सहभागी हुनुहुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपभापति डा स्वर्णीम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, नेकपा (एकीकृत समाजवादी)बाट प्रकाश ज्वाला र राजेन्द्र पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी छन् ।
जेनजीका तर्फबाट १३ जना प्रतिनिधि मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डङ्गोल, अमित खनाल र राजन रानामगर सहभागी छन् ।
सरकारले चरणबद्ध वार्ता र छलफलमार्फत निर्वाचन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यसअघि कात्तिक ४ मा प्रधानमन्त्रीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच पनि वार्ता भइसकेको छ।




