काठमाडौं । हालै पुनः आन्दोलनको चेतावनी दिएका व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले तत्काल आन्दोलन नगर्ने भएका छन्। काठमाडौं उपत्यकाका प्रशासन र सुरक्षा अधिकारीहरूसँग मंगलबार भएको छलफलपछि उनले वार्ताबाटै समस्या समाधान गर्ने सहमति जनाएका हुन्। प्रसाईंले यसअघि छठ पर्वपछि आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। तर, कात्तिक ९ गते भएको छलफलमा उनले आन्दोलनका कार्यक्रम मंसिर दोस्रो सातासम्म स्थगित गर्ने बताएका छन्।
उनका अनुसार, “यदि सो समयसम्म वार्ताबाट ठोस समाधान ननिकाले भने त्यसपछि आन्दोलन गर्ने तयारी हुनेछ।”
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, ललितपुरका प्रजिअ सुमन घिमिरे, भक्तपुरका प्रजिअ नमराज घिमिरे, एसएसपी रमेश थापा, एसएसपी होविन्द्र बोगटी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की सहभागी छलफलमा प्रसाईंले संवादमै जोड दिने प्रतिबद्धता जनाएका थिए। प्रसाईंले छलफलमा सबै सरकारी कर्मचारीको तलब “१ लाख रुपियाँ पुर्याउने” आफ्नो पुरानो माग पुनः दोहोर्याएका थिए।
प्रशासन र प्रहरी अधिकारीहरूले प्रसाईंलाई आन्दोलनमार्फत होइन, वार्तामार्फत मागहरू अघि बढाउन सुझाएका थिए। एआईजी कार्कीका अनुसार,“प्रसाईंले तत्काल कुनै आन्दोलन नगर्ने र सरकारसँग वार्ता गरेरै अघि बढ्ने सहमति जनाउनुभएको छ। अहिलेको सुरक्षा परिस्थिति विगतभन्दा संवेदनशील भएकाले संवादकै बाटो उपयुक्त हुन्छ भन्ने बुझाइ बनाइएको छ।” २०८१ चैत १५ गते तीनकुनेमा भएको ‘पूर्वराजाको समर्थनमा’ प्रदर्शन हिंसात्मक भएपछि प्रसाईं विवादमा आएका थिए। त्यसपछि उनी भारत पुगेका थिए र पछि नेपाल फर्केपछि राज्यविरुद्धको आरोपमा पक्राउ परेका थिए।
प्रसाईं अघिपछि आफ्नो आक्रामक भाषण र सडक आन्दोलनका कारण चर्चामा रहँदै आएका थिए। तर यसपटकको सहमति उनी संघर्षभन्दा संवादतर्फ मोडिएको संकेतको रूपमा हेरिएको छ। विशेषगरी सुरक्षा निकायको संयोजन र राजनीतिक संवादको वातावरणले तत्काल तनाव घटाएको देखिन्छ।
छठपछि आन्दोलनको घोषणा गरिए पनि प्रसाईं र सरकारबीचको वार्ता सम्भावनाले राजनीतिक वातावरणलाई केही सहज बनाएको छ। यदि आगामी मंसिरसम्म वार्ताले समाधान खोज्न सकेन भने प्रसाईं पुनः सडकमा फर्किन सक्ने संकेत छ — तर अहिलेका लागि उनले संवादको बाटो रोजेका छन्।




