काठमाडौं । पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। सचिवको कार्यकाल पूरा हुनु अघि उनी राजीनामा गरेर युनिसेफमा जागिरमा गएकी थिइन्।
सुधा शर्मा २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पद सम्हालेकी थिइन्। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल र गगन थापाको सल्लाहकारको रूपमा समेत उनले कार्य गरेकी थिइन्।
उनले २०३९ सालमा जिल्ला अस्पतालबाट स्वास्थ्य सेवा यात्रा सुरु गरेकी थिइन् र नेपाल चिकित्सक संघकी एक मात्र महिला अध्यक्ष बनेकी छन्। अध्यक्षताका क्रममा उनी बागी उम्मेदवारको रूपमा विजयी भएकी थिइन्। २०६२र६३ को जनआन्दोलनमा चिकित्सक तथा प्रोफेसनल संस्थाका नेतृत्वमा रही घाइतेको उपचारमा समेत भूमिका निर्वाह गरेकी थिइन्।
सुधा स्वास्थ्य मन्त्रालयमा सहसचिव रहँदा परोपकार तथा प्रसूति गृहकी निर्देशक समेत बनेकी थिइन्। प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा विशेषज्ञता हासिल गरेकी छन्।
डा। शर्मा युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गायनाकोलोजिस्ट्सकी फेलो हुन् र जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी छिन्। उनले नेपाल चिकित्सक संघ, नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग), दक्षिण एशियाली महासंघ तथा एशिया–ओसियाना महासंघको शिक्षा समितिमा नेतृत्व सम्हालेकी छिन्।
महिलाको स्वास्थ्य क्षेत्रमा योगदानका लागि उनले एफआईजीओ वेमन अफ द इयर अवार्डसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन्। यस्तै, उनले संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्य अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारको रूपमा कार्य गरेकी छिन्। युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी उनले अब मन्त्रीको रूपमा आफ्नो अनुभव र नेतृत्व क्षमता प्रयोग गर्नेछन्।
विश्लेषकहरूका अनुसार, डा. शर्माको लामो प्रशासनिक अनुभव, अन्तर्राष्ट्रिय सन्दर्भमा काम गरेको ट्रयाक रेकर्ड र महिला स्वास्थ्य क्षेत्रमा योगदानले उनलाई स्वास्थ्य मन्त्रालयमा तत्काल प्रभाव पार्ने नेतृत्वकर्ता बनाउने सम्भावना रहेको छ।




