काठमाडौं । सरकारले आगामी निर्वाचन र हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राजनीतिक दलहरूलाई सडक आन्दोलनबाट टाढा रहि संवाद र समन्वयको बाटो अपनाउन आग्रह गरेको छ। शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकमा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो। झन्डै दुई घण्टा चलेको उक्त बैठकमा देशको समग्र सुरक्षा अवस्था, सम्भावित जोखिम, र निर्वाचन तयारीका विषयमा विस्तृत समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले दलहरूलाई संयमित रहि संवादको माध्यमबाट आफ्नो माग राख्न आग्रह गरे। उनले भने, “अब सडकमा नजाई पनि संवाद सम्भव छ। सडक प्रदर्शन लोकतान्त्रिक अधिकार हो, तर त्यसले अरूको अधिकार हनन् गर्न वा सार्वजनिक सम्पत्ति क्षति पुर्याउन नहुने हो।” अर्यालका अनुसार सरकारले सबै राजनीतिक शक्तिसँग संवादको ढोका खुला राखेको छ। “राजनीतिक माग सुन्न सरकार तयार छ। संवादमै आउनुहोस्, हिंसा र तोडफोडले कुनै पक्षलाई फाइदा गर्दैन,” उनले स्पष्ट पारे।
उनले हालको छलफल देशभरको शान्ति सुरक्षाको अवस्था सामान्यीकरण र निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा केन्द्रित रहेको बताए। “सडक प्रदर्शनसँग सम्बन्धित सम्भावित जोखिमको गहन विश्लेषण गरिएको छ,” उनले थपे। गृहमन्त्री अर्यालले दलहरूलाई जिम्मेवार राजनीतिक शक्ति सरह आचरण गर्न सुझाव दिए। “राजनीतिक शक्ति भनेको भविष्यमा देश चलाउने शक्ति हो। त्यसैले राजनीतिक व्यवहार र संस्कार पनि त्यही अनुरूप हुनुपर्छ,” उनले भने।
सरकारले हाल मुलुकमा संवेदनशील सुरक्षा अवस्था रहेको भन्दै राजनीतिक दलहरूलाई संयम र संवादको बाटोबाट समस्या समाधानमा सहभागी हुन पुनः अपिल गरेको छ।




