काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै नयाँ राजनीतिक दलसँग आबद्ध नभएको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रसारित ‘उज्यालो नेपाल पार्टी’सँग सम्बन्धित खबरलाई पूर्णतः असत्य र भ्रामक भनेका छन्।
मन्त्री घिसिङले विज्ञप्तिमार्फत् जनाएका छन्, “सूचना र समाचारमा उल्लेख गरिएझैं उज्यालो नेपाल पार्टीसँग मेरो कुनै किसिमको छलफल वा सहमति भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा पनि मेरो कुनै सहभागिता छैन।”
उनले थप लेखेका छन्, “मसँग कुनै परामर्श वा जानकारी नै बिना दूषित मनसायका साथ असत्य र तथ्यहीन सामग्री प्रचार गरिएको हुँदा यसको पूर्ण खण्डन गर्दछु।”
सामाजिक सञ्जालमा पछिल्ला केही दिनदेखि कुलमान घिसिङलाई ‘उज्यालो नेपाल पार्टी’को अध्यक्ष बनाउन लागेको र पार्टीमा आबद्ध हुने तयारी भएको भन्ने समाचारहरू सार्वजनिक भइरहेका थिए। ती खबरप्रति घिसिङले “जनताको भ्रम हटाउन” खण्डन जारी गरेका हुन्।
उनले सबैलाई भ्रामक प्रचारमा नफस्न आग्रह गर्दै, आफ्नो ध्यान ऊर्जा सुधार, पूर्वाधार विस्तार र जलस्रोत व्यवस्थापनमै केन्द्रित रहेको बताएका छन्।




