अर्थ

नेपाल संवत् उल्लेखसहित नयाँ नोट तयारीको पहल गर्ने प्रधानमन्त्री कार्कीको घोषणा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली मुद्रामा नेपाल संवत् समावेश गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकी छिन्।

नेपाल संवत् ११४६ को अवसरमा बुधबार भक्तपुरको मध्यपुर थिमीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सम्बन्धित निकायहरूसँग परामर्श गरी आवश्यक प्रक्रिया सुरु गर्ने घोषणा गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्,“नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।”

नेपाल संवत्को प्रारम्भ राजा राघवदेवको शासनकालमा शंखधर साख्वाले ऋणमा डुबेका नागरिकको ऋणमोचन गरेर गरेका थिए। साख्वाको सो ऐतिहासिक कदमले नेपाली समाजमा समानता र मानवीयताको सन्देश फैलाएको प्रधानमन्त्री कार्कीले उल्लेख गरिन्।

“यो दिन सामाजिक एकता र सहअस्तित्वको प्रतीक हो,” उनले भनिन्, “शंखधर साख्वाको त्याग र मानवताको बाटोले हामी सबैलाई प्रेरणा दिन्छ।”प्रधानमन्त्रीले नेपाल संवत् कार्यान्वयनलाई सरकारी कार्यालयहरूमा पनि प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयमार्फत थप निर्देशन दिने बताइन्। साथै, अनुगमन र प्रवर्द्धनका लागि प्रतिष्ठानसँग सहकार्य गर्ने इच्छा पनि व्यक्त गरिन्।

शंखधर साख्वालाई वि।सं। २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने नेपाल संवत् २०६५ कात्तिक ७ गतेदेखि राष्ट्रिय संवत् मानिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *