देश

एमाले नेता बर्तौलाले भने – ‘गृहमन्त्री अर्याल नै अस्थिरताको मुख्य स्रोत’

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले गृहमन्त्री ओम अर्याललाई देशको शान्ति सुरक्षा र आगामी निर्वाचनका लागि ‘मुख्य चुनौती’को रूपमा चित्रण गरेका छन्। उनले गृहमन्त्रीकै असक्षम नेतृत्व र पूर्वाग्रही सोचका कारण देशमा असुरक्षा र अराजकता फैलिरहेको आरोप लगाएका छन्।

बर्तौलाले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “जेनजी आन्दोलनका नाममा भएको हिंसा र विध्वंसको जरा खोज्नुभयो भने, त्यसको नर्सरीका माली स्वयं गृहमन्त्री अर्याल हुन्।” उनका अनुसार, गृहमन्त्रीले आफ्नो पदको दुरुपयोग गर्दै असन्तुष्ट युवामाझ घुसपैठ गराउने र परिस्थिति थप अस्थिर बनाउने काम गरेका छन्।

“उनी अझै पनि ईर्ष्या, कुण्ठा र आक्रोशबाट मुक्त हुन सकेका छैनन्,” बर्तौलाले लेखेका छन्, “लुटिएका हतियारको खोजी उनी गर्न चाहँदैनन्, भागेका कैदीबन्दी कहाँ पुगे भन्नेमा चासो छैन, प्रहरीको मनोबल घटेको छ तर गृह मन्त्रालय मौन छ।”

एमाले नेताको आरोप अनुसार, पछिल्ला दिनमा मुलुकभर हत्या, हिंसा र आक्रमणका घटना बढिरहेका छन् तर गृहमन्त्रीको ध्यान राजनीतिक द्वन्द्व र प्रचारमा मात्र केन्द्रित छ। “देशमा शान्ति, स्थिरता र जनविश्वास कायम राख्ने दायित्व भएकै व्यक्ति अहिले हिंसा र विभाजनलाई उक्साउने मुख्य पात्र बनेका छन्,” बर्तौलाले आरोप लगाए।

उनले गृहमन्त्री अर्यालमाथि झूटा अभिव्यक्ति र भड्काउने भाषणमार्फत जनमत भ्रमित गर्ने प्रयास गरेको पनि दाबी गरे। “पूर्वप्रधानमन्त्रीदेखि शीर्ष नेतासम्मलाई इरिटेसनमा ल्याउने, दलहरूबीच द्वन्द्व बढाउने, अनि त्यसैको लाभ लिन खोज्ने गृह मन्त्रालयको चाल स्पष्ट देखिन्छ,” उनले लेखे।

राजनीतिक वृत्तमा बर्तौलाको टिप्पणीलाई सत्तापक्षप्रति एमालेको आक्रामक रणनीतिको निरन्तरता मानिएको छ। विश्लेषकहरू भन्छन्, आगामी निर्वाचन नजिकिँदै जाँदा शान्ति–सुरक्षाको सवाल राजनीतिक आरोप–प्रत्यारोपको मुख्य एजेन्डा बन्दै गएको छ।

बर्तौलाको निष्कर्ष स्पष्ट छ— गृहमन्त्री अर्यालले कानून र शान्ति होइन, अस्थिरता र अविश्वासको राजनीति गर्दै देशलाई चुनावभन्दा टकरावतिर धकेलिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *