देश

जेनजी आन्दोलनः उत्तरपुस्तिका नष्ट र शिक्षा मन्त्रालयमा भारी खर्चको चुनौती : शिक्षामन्त्री पुन

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालयमा राखिएका उत्तरपुस्तिका जलेको तथ्यलाई औपचारिक रूपले स्वीकार गर्दै पुनः परीक्षा सञ्चालन गर्न ठूलो खर्च लाग्ने बताए।

सोमबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, “आन्दोलनका कारण उत्तरपुस्तिका जलेका छन्, पुनः परीक्षा सञ्चालन गर्न १ करोड ७५ लाख रुपैयाँ खर्च हुनेछ।” उनले विभिन्न प्रदेश र जिल्लाका जलेका उत्तरपुस्तिकाबारे बुझ्ने प्रक्रिया जारी रहेको जानकारी पनि दिए।

मन्त्री पुनले जेनजी आन्दोलनलाई नेपालको राजनीतिक परिवेशमा आएको “चट्याङ”सँग तुलना गरे। उनले भने, “अहिलेको अवस्था संक्रमणकालीन छ। जेनजी आन्दोलनले अलिकति विध्वंस गर्‍यो। यस्तो चट्याङ हजार वर्षमा फेरि आउन सक्छ वा नआउन सक्छ।”

अद्वितीय शैलीमा बोल्दै उनले आफ्नो मन्त्री पदमा व्यक्तिगत स्वार्थ नभएको पनि स्पष्ट पारे। उनले भने, “मैले यो निर्णय स्वविकेले लिएको हुँ। आगामी चुनावमा मेरो कुनै निजी मनसाय छैन। छ महिनापछि म फेरि किताब बेच्न जान्छु।”

सामाजिक र व्यक्तिगत शैलीबारे पत्रकारको प्रश्नमा उनले आफ्नो बाल्यकालको अनुभव साझा गर्दै चप्पल लगाउने कारण सार्वजनिक गरे। मन्त्री पुनले भने, “बाल्यकालदेखि नै चप्पल लगाएको छु। अहिले पनि चप्पल नै सजिलो भएकाले जुत्ता लगाउन मन लागेन।”

त्यसैगरी, विश्वविद्यालय सुधार र राजनीतिकरण न्यूनीकरणबारे पनि मन्त्री पुनले आफ्नो दृष्टिकोण राखे। उनले विश्वविद्यालयका कुलपति राजनीतिक रूपमा प्रधानमन्त्री बन्न नपाउने व्यवस्था ल्याउनुपर्ने बताए। “कुलपति प्रधानमन्त्री हुने चलन छ, अब यस्तो व्यवस्था हटाउनुपर्छ। छलफल जारी छ,” उनले भने।

मन्त्री पुनको टिप्पणीले आगामी शिक्षा नीतिमा सुधार र आन्दोलनको असर व्यवस्थापनको स्पष्ट संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *