काठमाडौं । देशभर फैलिएको जेन–जी आन्दोलन पछि नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः राजनीतिक विवादको केन्द्रमा छन्। उनी एकातिर आन्दोलनका मागलाई “माओवादीको ऐतिहासिक निरन्तरता” भन्दै समर्थन जनाइरहेका छन्, अर्कातिर विश्लेषकहरू भने यो समर्थनलाई “राजनीतिक पुनर्जागरणको आवरणमा सत्ताको खोजी” का रूपमा व्याख्या गर्न थालेका छन्।
प्रचण्डको दोहोरो चरित्र : समर्थनको भाषण, सत्ताको मोह
धादिङमा आयोजित कार्यक्रममा प्रचण्डले जेन–जी आन्दोलनलाई “नयाँ राजनीतिक चेतनाको लहर” भन्दै स्वागत गरे। उनले भने, “युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्।” तर, राजनीतिक विश्लेषकहरूको प्रश्न छ — जब यही आन्दोलनमा युवामाथि गोली चल्यो, प्रहरीको दमन भयो, तब प्रचण्ड किन मौन बसे? आन्दोलन दबाउन बनेको सरकारको सहयोगी दलमा बस्ने नेताले अहिले त्यसै आन्दोलनलाई “जनताको स्वर” भनेर व्याख्या गर्नु नै विरोधाभास हो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई “जनधनको क्षतिप्रति कुनै पश्चाताप छैन” भन्दै आरोप लगाउने प्रचण्ड सत्ता प्रतिपक्ष दलका प्रमूख नेता थिए । राजनीतिज्ञहरु भन्छन्, “प्रचण्ड सधैं संकटपछि पुनः ‘जनताको पक्ष’मा फर्कन्छन्, तर संकट सधैं उनीकै कारण निम्तिन्छ।” जेन–जी आन्दोलनले पुराना दलहरूको असफलता उजागर गर्यो, तर अहिले प्रचण्ड त्यही असन्तुष्ट जनमतलाई पुनः आफ्नो पक्षमा तान्ने प्रयत्नमा छन्। उनले “असली जेन–जीलाई नेतृत्वमा ल्याउने” भने पनि पार्टीभित्र युवा नेतृत्वको सम्भावना सधैं निराशाजनक देखिएको छ।
माओवादी केन्द्रका एक वरिष्ठ नेता भन्छन् — “प्रचण्डले युवालाई नेतृत्वमा ल्याउने भनेको केवल नारामात्र हो। निर्णय गर्ने शक्ति आज पनि उनको निवासमै सीमित छ।” यो परिस्थितिमा प्रचण्डको “जेन–जी समर्थन” अभियान धेरैलाई २०६२र६३ को आन्दोलनपछि उनको सत्ता–केन्द्रित रूपान्तरणको पुनरावृत्तिमा देखिएको छ।
राजनीतिक अवसरवादको नयाँ संस्करण
प्रचण्डले जेन–जी आन्दोलनलाई वैचारिक सहयात्रीको रूपमा प्रस्तुत गरे पनि, त्यसको प्रयोग “संगठन पुनर्जीवन र चुनावी तयारी” सँग जोडिएको छ। पार्टीले देशभर सदस्यता नवीकरण र नयाँ भर्ना अभियान थालेको छ, जसको लक्ष्य आन्दोलनको भावनालाई संगठनिक फाइदामा रूपान्तरण गर्नु हो। राजनीतिक पर्यवेक्षकहरू भन्छन्, “प्रचण्ड अहिले पनि आन्दोलनको भावनालाई सत्ताको सिडी बनाउन खोज्दै छन्। यो समर्थन होइन, रणनीतिक उपयोग हो।”
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने भदौ २३–२४ का घटनालाई “राष्ट्र र संविधानमाथिको नियोजित आक्रमण” मानेका छन्। उनले यो आन्दोलनलाई “नेपाली संस्करणको कलर रिभोल्युसन” भनेर व्याख्या गर्दै विदेशी प्रभावको चेतावनी दिए। ओलीका अनुसार, “१९ युवाको मृत्यु केवल गल्ती होइन, योजनाबद्ध षड्यन्त्र हो।” अध्यक्ष ओलीले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कडघरामा उभ्याउनुपर्ने बताउँदै आएका छन् ।
देशको इतिहास मेटाउने षड्यन्त्र गर्नेमाथि कानुनी कारबाही नभए पुन : पुरानै दल सरकारमा आउनुपर्नै हुन्छ ओली भने । ओलीले नेपाल देशलाई कंगाल बनाउने अभियान चलाउने विदेशी शक्तिहरुको दुस्प्रभाव रोक्न सबैले सकरात्मक भूमिका खेल्नुपर्ने बताइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने पुनः आन्दोलनकारीको पालनपोषण र अराजक गतिविधिमा लाग्न उक्साउने किसिमको रणनीति बनाउँदैँछन् । प्रचण्डले भदौ २३–२४ को जेन्जी आन्दोलनअघि सिंहदरबार जलाउन सम्पूर्ण नेपाली भेला हुने बताएका थिए । सोही अभिव्यक्तिका कारण प्रचण्डमाथि पनि अनुसन्धान गर्नुपर्ने आवाज उठ्न थालेको छ । हामि नेपालका संयोजक सुदन गुरुङ लगायतका टिमहरुले माओवादी केन्द्रका अध्यक्ष डब्बल स्ट्यान्डमा रहेको भन्दै सामाजिक संचालमार्फत आलोचना गर्दै आएका छन् ।
प्रचण्डको अभिव्यक्तिले राष्ट्रको हितभन्दा बढी राजनीतिक स्वार्थ झल्किएको देखिन्छ। तर ओलीले एमाले अध्यक्ष पदबाट पछि नहट्ने बुझेपछि प्रचण्ड ओलीमाथि पुनः आरोप र प्रत्यारोपमा उर्तिएका छन् । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रको अध्यक्ष समेत भएर देशमा पुनः हिंशा भड्काउने गतिविधिका लागि नागरिकहरुलाई उत्तेजित पार्नु राजनीतिज्ञका लागि मात्र होइन् सम्पूर्ण देशवासीका लागि बडो लज्जाको विषय हो । १७ जनाको मृत्यु, सयौँ घाइते र हजारौँ संरचनाको क्षतिपछि देश राजनीतिक संक्रमणको नयाँ मोडमा पुगेको छ। यस्ता अवस्थामा प्रचण्डले ओलीमाथि आरोप–प्रत्यारोपले जनआन्दोलनको मर्म नै कमजोर बनाइरहेको छ। राजनीतिक विश्लेषक भन्छन्, “यो आन्दोलन जनताको पीडा थियो, नेताहरूको अवसर होइन। अहिले प्रचण्डले यसलाई राजनीतिक पुनःउत्थानको औजार बनाउँदा आन्दोलन नै कलंकित हुन सक्छ।”
जेन–जी आन्दोलनले परिवर्तनको नयाँ चाहना बोकेको थियो, तर त्यसकै नाममा प्रचण्डले फेरि सत्ता र अस्तित्वको खेल सुरु गरेका छन्। उनका भाषण नयाँ लागे पनि रणनीति पुरानै छ — वाचा, भावनात्मक भाषण, र अन्ततः राजनीतिक सौदाबाजी। नेपालको नयाँ पुस्ता अब नेताको भाषण होइन, उनको व्यवहारले नै मूल्याङ्कन गर्ने मोडमा पुगेको छ। र त्यो मूल्याङ्कनमा, प्रचण्ड अझै पनि विगतको प्रतीक बनेर उभिएका छन् — परिवर्तनका होइन, अस्थिरताका।




