काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बुधबार जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले थुनछेक बहसपछि महरालाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए ।
महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्रसहित जिल्ला अदालतमा पेस गरिएको थियो ।
मंगलबार क्षेत्रीको इजलासमा महराको बयान भए पनि बहस नसकिएकाले उनलाई हिरासतमा फर्काइएको थियो । बुधबार पुनः थुनछेक बहस गरी अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । उनी यसअघि पनि सोही प्रकरणमा पक्राउ परेका थिए र २०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङद्वारा ७३ बट्टामा लुकाइएका ७३० वटा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी भएको घटनामा उनको नाम जोडिएको थियो ।
सो प्रकरणमा महराका छोरासहित अन्य प्रतिवादीहरूमाथि यसअघि नै मुद्दा दायर भइसकेको छ ।




