काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्ने आफ्नो अघिल्लो प्रतिबद्धता दोहोर्याएका छन्। उनले अब पार्टीको नेतृत्व नयाँ पुस्ताले सम्हाल्ने समय आएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले भने, “घरमा जस्तै पार्टीमा पनि सधैं एउटै व्यक्ति शीर्षमा रहँदैन। मैले पहिले नै भनिसकेको छु— १५औं महाधिवेशनबाट म सभापतिको जिम्मेवारी वैधानिक रूपमा नयाँ नेतृत्वलाई सुम्पिन्छु।”
देउवाले आफ्नो राजनीतिक यात्रा र पार्टीप्रतिको जिम्मेवारीको चर्चा गर्दै, “पार्टीको स्थायित्व र संगठन सुदृढीकरणका लागि नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया हो,” भनेका छन्।
तर, उनले १५औं महाधिवेशन कहिले गर्ने भन्नेबारे भने कुनै स्पष्ट मिति घोषणा गरेनन्।
जेन–जी आन्दोलनपछि कांग्रेसभित्र आन्तरिक दबाब बढ्दै गएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको म्याद थप्ने निर्णय नगरी आगामी मंसिरभित्रै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्।
१४औं महाधिवेशनका अधिकांश प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरसमेत संकलन गरिसकेका छन्। देउवाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र ‘उत्तराधिकारी नेतृत्व’ को बहस झन् तातेको छ।



