राजनीति

काँग्रेसले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्छ: डा. चन्द्रकान्त भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले मुलुक विषम राजनीतिक संकटमा रहेको भन्दै कांग्रेसले देश, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेसले सधैं मुलुक, लोकतन्त्र र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिँदै आएको बताए।

उनका अनुसार मुलुकमा देखिएको राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट अघि बढ्ने बाटो तय गर्न पार्टी केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्नेछ।

भण्डारीले बैठकले पार्टीको आगामी महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने भन्ने विषयमा पनि निर्णय लिने जानकारी दिए।

उनले सभापति शेरबहादुर देउवाले पहिल्यै नेतृत्व हस्तान्तरणको संकेत गरिसकेकाले आगामी महाधिवेशनबाट पार्टीमा नेतृत्व परिवर्तन हुने निश्चित रहेको बताए।

त्यसैगरी उनले अन्य राजनीतिक दल र जेनजी पुस्तासँग समेत सहकार्य गर्दै संविधानमा आवश्यक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

भण्डारीका अनुसार समानुपातिक सांसदहरूको भूमिकाको स्पष्टता र स्थायित्वसहित एकदलको बहुमत सम्भव हुनेगरी संविधानलाई पुनःसक्रिय बनाउने पहल अब अनिवार्य भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *