काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका औपचारिक एजेन्डा टुंग्याउनेछ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बिहीबार र शुक्रबार बसेका बैठकमा तीन एजेन्डा उठेका छन्। बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो।
बैठकमा सहभागी नेताहरूले पार्टीको महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन, र भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारणबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउनुपर्ने धारणा राखेका छन्।
वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ। सोही मङ्सिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी बैठकमा आएको छ। त्यस्तै, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेन्डा बन्ने भएको छ।
बैठकमा सहभागी अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको कार्यकाल थप्न नहुने र निर्धारित समयमा नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्। कांग्रेसमा अहिले नियमित र विशेष महाधिवेशनबारे पनि छलफल चलिरहेको छ।



