काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन–जी आन्दोलनका क्रममा पार्टीका संस्थापक नेताहरूको घर र आश्रममा आगजनी भएपनि कांग्रेस फेरि उठ्ने विश्वास व्यक्त गरेका छन् ।
पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको आवश्यकताअनुसार कांग्रेस पंक्ति एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालिएको बताए ।उनले भने, “अहिले सम्पूर्ण पार्टी एकताबद्ध हुनुपर्छ । सघन छलफल गरेर निष्कर्षमा पुग्छौं ।”
जेन–जी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि बनेको आयोगले काम गरिरहेको अवस्थामा रमेश लेखकलगायतलाई पक्राउ गर्न खोजिएको विषयमा उनले आपत्ति जनाए ।उनले भने, “आयोग केका लागि बनेको हो ? छानबिनका लागि बनेको हो । आयोगले नै निष्कर्ष निकाल्नुपर्छ — घटनामा को को संलग्न छन् भनेर ।”
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि कांग्रेसको साथ खोजेको विषयमा प्रश्न सोधिँदा उनले त्यो विकल्प बन्द गर्न नहुने बताए ।उनले भने, “संसद् पुनःस्थापनाको कुरा पहिले पनि उठिसकेको हो । अहिले हामी विश्वसनीय निर्वाचनको पक्षमा छौं । संवैधानिक र कानूनी दृष्टिले यो सरकार पूर्ण रूपमा संवैधानिक छैन । कांग्रेस जहिल्यै पनि निर्वाचनका लागि तत्पर रहने पार्टी हो । सरकार गम्भीर नभएको अवस्थामा देशलाई फेरि अनन्तकालको अस्थिरता र अनिर्णयको बन्दी बनाउन हुँदैन । पुनःस्थापनाको विकल्प बन्द गर्नु हुँदैन ।”
प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन र आगामी नीतिबारे छलफल भएपनि कार्यवाहक सभापतिबारे कुनै छलफल नभएको बताए ।उनले जेनजी आन्दोलनबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।बैठक भोलि पनि बस्ने र केन्द्रीय समिति बैठकको एजेण्डा तय गरिने भएको छ ।प्रवक्ता महतले असोज २६ गतेदेखि हुने केन्द्रीय समितिको बैठकमा सभापति देउवा सहभागी हुने समेत जानकारी दिएका छन् ।



