काठमाडौं। जेनजी आन्दोलनको नयाँ राजनीतिक परिप्रेक्ष्यमा आगामी अन्तरिम सरकारको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ। यहीबीच, सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम नेतृत्वका लागि अघि आएको छ। बुधबार जेनजी प्रतिनिधिहरूले कार्कीलाई नेतृत्वका लागि प्रस्ताव गरेका थिए। यस क्रममा काठमाडौँ महानगरका मेयर बालेन शाहले समेत समर्थन जनाएका छन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले आफ्नो प्राथमिकता जेनजी आन्दोलनका मारिएका परिवारलाई राहत दिनु रहेको बताइन्। कार्कीले भनिन्, “प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ। अब अरु धेरै काम सरकार बनेपछि गर्न सकिन्छ। आगामी सरकार निष्पक्ष र कानूनी रूपमा जिम्मेवार व्यक्तिले नेतृत्व गर्नुपर्छ। म राजनीतिक नेतृत्वमा रहिनँ, तर नागरिक समाजको सक्रिय सहभागिता आवश्यक छ।”
त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँगको छलफलपछि आफूलाई नेतृत्वको कुनै मोह नभएको स्पष्ट पारेका छन्। उनले भनेका छन्, “बालेन वा कार्की जोसुकै तयार छन् भने म उनीहरूको नेतृत्व स्वीकार्न तयार छु। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको साझा जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको छ।”
यस्तै, जंगीअड्डाबाहिर केही युवाहरूले आगामी सरकारको नेतृत्वका विषयमा असन्तुष्टि जनाउँदै नाराबाजी गरेका थिए। नेपाली सेनाले माइकिङमार्फत भोलि बिहान व्यक्तिगत रूपमा सम्पर्कमा आउन निर्देशन दिएको छ। सेनाका प्रतिनिधिहरूले भनेका छन्, “को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला।”
यसैबीच, धरानका मेयर हर्क साङपाङले पनि आफू प्रधानमन्त्री बन्न तयार रहेको र काठमाडौं आएको बताए। उनले गुनासो गर्दै भनेका छन्, “प्रधानमन्त्री बन्न सजिलो छैन, पहिले संविधान र कानुन हेर्नुपर्छ।”
सैनिक स्रोतका अनुसार, जंगीअड्डामा भएको बैठकमा प्रारम्भिक सहमति अनुसार कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने विषयमा छलफल भइरहेको छ। यो कदम आन्दोलनको शान्तिपूर्ण ढाँचामा व्यवस्थापन र नेतृत्वको स्पष्टता सुनिश्चित गर्न उठाइएको हो।
जेनजी समूह भित्रको विविध मत र छलफलले आगामी सरकार गठन प्रक्रियामा पारदर्शिता र सहमति आवश्यक रहेको देखाएको छ। कार्कीको नेतृत्वमा सरकार बन्यो भने प्राथमिकतामा शान्ति, राहत वितरण र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु रहने बताइएको छ।




