देश

दलका नेताहरूको अपील : आत्मसमीक्षा, संयम र नयाँ सोचको माग

काठमाडौं । ‘जेनजी’ आन्दोलन चर्किँदै गएको सन्दर्भमा देश गम्भीर अस्थिरतामाथि पुगेको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्ना सन्देश सार्वजनिक गरेका छन्। कसैले आत्मसमीक्षाको आग्रह गरेका छन् भने कसैले संयमता र नयाँ सोचको आवश्यकता औंल्याएका छन्।
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र नेतृत्वबाट भएका गल्ती कमजोरीको खुलेर समीक्षा गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले जनतासँग प्रत्यक्ष संवाद गर्ने, संगठनलाई लोकतान्त्रिक र पारदर्शी ढंगले पुनर्गठन गर्ने र गल्तीप्रति आत्मालोचित बन्ने सुझाव दिएका छन्। उनले लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, प्रेस स्वतन्त्रता र कानुनको शासनलाई एमालेले विचलित नभई बचाउनुपर्ने बताएका छन्।

पोखरेल : संयमता नै समाधान

एमाले महासचिव शंकर पोखरेलले हालको प्रतिकूल अवस्थामा संयमता र धैर्य आवश्यक रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत “हामी फेरि उठ्नेछौँ” भन्दै कार्यकर्तालाई धैर्य राख्न आह्वान गरे। तर, सांसद पदम गिरीले भने राज्यका निकायहरू आन्दोलन हिंसामा फस्दा मूकदर्शक बनेको भन्दै गम्भीर आलोचना गरेका छन्। उनका अनुसार, शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ रोक्न सुरक्षा संयन्त्र असफल भयो। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान संकट समाधानका लागि सात सुझाव अघि सारेका छन्।

सर्वपक्षीय गोलमेज सम्मेलन

राष्ट्रिय सहमतिको सरकार

भ्रष्टाचार छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग

विदेशमा रहेको अवैध सम्पत्ति राष्ट्रियकरण

जेनजीसँग परिणाममुखी संवाद

संविधान संशोधनसँगै जनमतसंग्रह

दण्डहीनता अन्त्य र सुशासनको व्यवस्था

केसीका अनुसार, जेनजी पुस्ताको आन्दोलन हिंसात्मक नभई सुशासन र सम्मानित भविष्यको खोजी हो, जसलाई अराजक समूहहरूले दुरुपयोग गरेका छन्।

माओवादी : असामान्य अवस्थामा नयाँ सोच

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अहिलेको अवस्था असामान्य भएकाले सामान्य राजनीतिक ढर्रा छोडेर नयाँ ढंगले सोच्न आग्रह गरेका छन्।

जेनजी अभियन्ता : आन्दोलनलाई राजनीतिक हस्तक्षेपले बिगार्‍यो

जेनजी समूहका अभियन्ता अमित खनालले आन्दोलन शान्तिपूर्ण सुरु भए पनि रास्वपा र व्यापारी दुर्गा प्रसाई समूहको प्रवेशपछि अराजक बनेको आरोप लगाएका छन्। उनका अनुसार, आन्दोलनको मूल एजेन्डा भ्रष्टाचारविरुद्ध भए पनि बाह्य हस्तक्षेपले तोडफोड र हिंसामा रूपान्तरण गरायो। नेताहरूले सुझाएका मार्ग फरक–फरक भए पनि साझा चिन्ता एउटै हो – देश असुरक्षित र अनिश्चित दिशातर्फ धकेलिँदै छ। आन्दोलनमा युवाको असन्तुष्टि वास्तविक छ, तर हिंसात्मक मोडले राज्य र समाज दुवैलाई संकटमा पारिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *