काठमाडौं । सभामुख देवराज घिमिरेले लामो समयदेखि अवरुद्ध भइरहेको संसद् फेरि लयमा फर्काउन सरकार र प्रतिपक्षबीच संवाद आवश्यक रहेको भन्दै सबै दललाई सहकार्यका लागि अपिल गरेका छन्।
शुक्रबारको बैठकमा सभामुखले आकस्मिक समयअघि आफ्नो भनाइ राख्दै प्रतिपक्षी सांसदहरू नियमित बैठकमा सहभागी नभएकोमा चिन्ता व्यक्त गरे। उनले भिजिट भिसा प्रकरणलगायतका मुद्दामा सहमति खोज्न आफैंले पहल गरेको दाबी गर्दै भने, “संसद् केवल असहमति अभिव्यक्त गर्ने स्थल मात्र होइन, राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो।”
उनले बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्दै बाहिरिने प्रवृत्ति संसदीय अभ्यास र लोकतान्त्रिक प्रणालीका लागि दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनीसमेत दिए।
सभामुखले अहिले संघीयता सुदृढ पार्ने उद्देश्यले महत्त्वपूर्ण विधेयकहरू संसद्मा विचाराधीन रहेको उल्लेख गर्दै, “यी कानुनले सबै सांसदहरूको गम्भीर बहस खोजिरहेका छन्” भनेका छन्। प्रधानमन्त्रीसमेतले बैठकमा बोल्ने तयारी गरेको भन्दै उनले सबै सांसदलाई उपस्थित रहन आग्रह गरे।
तर, सभामुखको बारम्बारको अपिललाई बेवास्ता गर्दै रास्वपा र राप्रपाका सांसदहरूले शुक्रबार पनि आफ्ना माग दोहोर्याउँदै सदनबाट बाहिरिएका छन्।




