काठमाडौं । विद्यालय शिक्षा ऐन छिट्टै ल्याउन दबाब दिने उद्देश्यले शिक्षक महासङ्घले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्।
आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा बसेको धर्नामा सहभागी शिक्षकहरूले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।
महासङ्घले शिक्षा सुधार र विधेयक पारित गर्न सरकार र दलहरूले स्पष्ट कदम चाल्नुपर्ने माग गर्दै आगामी दिनहरूमा अन्य राजनीतिक दलका कार्यालयहरूमा पनि चरणबद्ध कार्यक्रम जारी राख्ने जनाएको छ।




