देश

भदौ महिनाको संसदीय कार्यतालिका : नागरिकता, शिक्षा र निजामती विधेयकमा टुंगो लाग्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाले आगामी भदौ महिनाको कार्यतालिका सार्वजनिक गरेको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकबीचको छलफलपछि आगामी १५ दिनभित्रका बैठकका एजेन्डा टुंगो लागेका हुन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार शुक्रबार बस्ने बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउनेछ । त्यस्तै, भदौ १८ गते नागरिकता विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयले फिर्ता पठाएको संवैधानिक परिषद् विधेयकमाथि छलफल गरेर निर्णय लिने कार्यक्रम तय भएको छ ।

उनका अनुसार राष्ट्रियसभाबाट पारित भएर आउने निजामती विधेयकलाई भदौ १९ गते प्रतिनिधिसभाले पारित गर्ने तयारी छ भने भदौ २६ गते विद्यालय शिक्षा विधेयकमाथि निर्णय हुने सम्भावित मिति तोकिएको छ ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । उनका अनुसार त्यसपछि तय गरिएका बैठकहरूमा अन्य विधेयकका एजेन्डा पनि अघि बढाइनेछ ।

भदौ महिनामा संसद बैठक १८, १९, २५, २६ र २७ गते बस्ने गरी तालिका तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *