काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी सम्हालेकी छन्। मंगलबार संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएर उनले नयाँ भूमिकामा प्रवेश गरेकी हुन्। अब उनले राज्यमन्त्री सरहको सुविधा पाउने छिन्।
६६ वर्षकी न्यौपानेको राजनीतिक यात्रा करिब चार दशकअघि २०३६ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। २०१६ मंसिर १५ गते दाङमा जन्मिएकी उनी मूलतः कैलालीको भजनी नगरपालिका–८, गोधैचौरकी बासिन्दा हुन्। मानविकी तथा अर्थशास्त्रमा स्नातक गरेकी उनले विद्यार्थी जीवनमै राजनीति रोजेकी थिइन्।
उनको राजनीतिक यात्रामा नेपाली महिला संघ निर्णायक संस्थान सावित भयो। महिला अधिकार र समानताको आन्दोलनमार्फत उनी उपसभापति पदसम्म पुगेकी थिइन्। यही सक्रियताले उनलाई कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित गर्यो। कांग्रेसको १२ औं महाधिवेशनदेखि निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुँदै आएकी उनी सभापति शेरबहादुर देउवा निकट नेतृ मानिन्छिन्।
संविधानसभा सदस्य हुँदै संविधान निर्माण प्रक्रियामा सक्रिय भइसकेकी न्यौपाने २०६४ र २०७० सालमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी समानुपातिक सांसद बनेकी थिइन्। २०८१ साउनमा उनी संसदीय सुनुवाइ समितिको सभापति निर्विरोध निर्वाचित भएकी थिइन्। त्यसअघि, उनी प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारसमेत बनेकी थिइन्, यद्यपि पराजित भएकी थिइन्।
उनको नयाँ जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समितिमा छ, जुन सरकारका कामकारबाही, सुशासन प्रवर्द्धन र कर्मचारीतन्त्रसँग सम्बन्धित कानुन निर्माण गर्ने शक्तिशाली समिति मानिन्छ। लामो राजनीतिक र संसदीय अनुभव भएकी नेतृका रूपमा उनी समितिलाई अझ प्रभावकारी बनाउन सक्ने विश्वास काँग्रेसभित्र राखिएको छ।
सभापति निर्वाचित भएलगत्तै उनले भनिन्, “मसँग यसका लागि अलग तयारी थिएन। तर पार्टीले जिम्मेवारी दिएको छ भने चुनौती, समस्या र सम्भावना तीनवटै कुरालाई ध्यानमा राखेर काम गर्छु।” नेपाल महिला संघदेखि संविधानसभा हुँदै शक्तिशाली संसदीय समितिको नेतृत्वसम्म आइपुगेकी ईश्वरीदेवी न्यौपानेको यात्रा अहिले नेपाली राजनीतिमा महिला नेतृत्वको महत्त्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।




