काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर विद्युतीय अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार, ५ भदौमा हुलाकमार्फत आएको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि बुधबार सोधपुछका लागि कार्यालय पुगेका महरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी उपरीक्षक (एसपी) दीपक अवस्थीका अनुसार, महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कारबाही गर्ने उल्लेख उजुरीमा छ। सो दफामा गैरकानुनी सामग्री प्रकाशन वा सार्वजनिक शिष्टाचारविरुद्धका गतिविधिलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
साइबर ब्यूरोका एक अधिकृतका अनुसार, महरले सामाजिक सञ्जालमा लाइभ प्रसारण गर्दै एक युवतीको चरित्र हत्या गरेको आरोप छ। यसअघि पनि सोही युवतीले बलात्कारको उजुरी दिएकी थिइन्, तर प्रहरीबाट दर्ता अस्वीकार भएपछि उच्च अदालत पाटनले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।
यद्यपि उजुरी दिने युवती पनि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेकी थिइन्। अहिले महरमाथि थप अनुसन्धानका लागि म्याद थप गरी अदालतमा पेश गरिएको छ।
बझाङका स्थायी बासिन्दा महर अनेरास्ववियुका अध्यक्ष हुँदै एमाले राजनीतिमा सक्रिय बनेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बने पनि नेकपा एसका भानुभक्त जोशीसँग पराजित भएका थिए।
२०७८ मंसिरमा एमालेले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो। तर, यौन विचलनसम्बन्धी अडियो सार्वजनिक भएपछि पार्टीले महरलाई निलम्बन गरेको थियो। पछि सचिवालय बैठकबाटै पुनः जिम्मेवारीमा फर्काइएको थियो।




