काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन्।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा न्यौपानेलाई निर्विरोध सभापति घोषित गरिएको हो। यसअघि समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त भएको पदमा न्यौपाने मात्र उम्मेदवार बनेकी थिइन्।
बैठकमा कांग्रेस सांसद खतिवडाले न्यौपानेलाई सभापति बनाउने प्रस्ताव गरेका थिए भने नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए।
नव–निर्वाचित सभापति न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनियताको शपथ लिनेछन्। नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेकी उनी हाल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखसमेत रहेकी छन्। यसअघि उनी संविधानसभा सदस्य र संसदीय दलकी सचेतकसमेत रहिसकेकी छन्।
कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।




