काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको नयाँ सभापति चयन र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विवाद प्रमुख एजेन्डा रहनेछन्।
बैठक बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने तय भएको पदाधिकारीहरूले जानकारी दिएका छन्। संघीय संसद् सचिवालयले आजै समिति सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको छ।
गत साउन २८ गते निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा गडबडी भएको भन्दै चर्को आलोचना खेपेका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि समिति सभापति पद रिक्त भएको हो। प्रतिनिधिसभा नियमावलीअनुसार रिक्त पद १५ दिनभित्र पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ।
यता, उपसभामुख इन्दिरा रानामगरमाथि पदीय आचरण विपरीत काम गरेपछि कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका छन्। सो मुद्दाले पार्टीभित्र नै मतभेद बढाएको छ। विशेषगरी डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुखविरुद्ध उठाइएका प्रश्नलाई समर्थन गरेपछि देउवाले छलफल आवश्यक ठानेर बैठक आह्वान गरेका हुन्।




