काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा चीन र भारतबीच लिपुलेक पास हुँदै सीमा व्यापार खोल्ने सहमति भएको छ । नयाँ दिल्लीमा मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री यीबीच भएको वार्तापछि भारतको विदेश मन्त्रालयले १२ बुँदे सहमति सार्वजनिक गरेको हो ।
विज्ञप्तिको नवौँ बुँदामा लिपुलेक, शिप्की ला र नाथुला गरी तीन नाकामार्फत सीमा पार व्यापार पुनः सुरु गर्ने सहमति उल्लेख गरिएको छ । लिपुलेक नेपालले आफ्नै भूभाग मानेको क्षेत्र हो, जसको उत्तरतर्फ चीनको तिब्बत र पश्चिमतर्फ लिम्पियाधुरा पर्छ । नेपालले यस क्षेत्रलाई चीन–भारत–नेपालको त्रिदेशीय बिन्दु मान्दै आएको छ ।
तर भारतले सो भूभाग अतिक्रमण गरी लिपुलेक हुँदै तिब्बत जाने सडक निर्माण गरेको छ । त्यहाँ सैन्य तथा सामरिक संरचना समेत बनाइसकेकाले नेपालले पटक–पटक आपत्ति जनाउँदै आएको छ ।
सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेकमार्फत व्यापार गर्ने सहमति भएको थियो । त्यसबेला समेत नेपाललाई जानकारी नदिइ गरिएको सहमतिप्रति तीव्र विरोध भएको थियो ।
हालैको सहमति गलवान उपत्यकामा भएको सीमा तनावपछि चीन–भारतबीच भएको दोस्रो उच्चस्तरीय भेटका रूपमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछिको परिस्थितिमा दुई मुलुकबीच व्यापारिक समझदारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट भविष्यमा चीन र भारत भ्रमणको तयारीमा रहेका बेला दुई छिमेकी मुलुकबीच यस्तो सहमति भएको छ । ओलीले चीनमा हुने शाङ्घाई कोअपरेसन अर्गनाइजेसन (SCO) सम्मेलनमा सहभागी हुने र त्यहाँ भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुने अपेक्षा गरिएको छ । त्यसपछि उनी भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।




