कोशी प्रदेश

कोशी प्रदेश र सिंहदरबार वैद्यखानाबीच २ करोड २० लाखको औषधि खरिद सम्झौता

काठमाडैं । आयुर्वेदिक स्वास्थ्य सेवामा आत्मनिर्भरता बढाउने उद्देश्यका साथ कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने सम्झौता गरेको छ ।

सोमबार विराटनगरमा भएको कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको उपस्थितिमा स्वास्थ्य सचिव डा. राधिका थपलिया र सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापछि कोशी प्रदेश सरकारी–सरकारी (जीटुजी) मोडलमार्फत सिधै वैद्यखानासँग औषधि खरिद गर्ने पहिलो प्रदेश बनेको छ । वैद्यखानाले उत्पादन गर्ने २३ प्रकारका आवश्यक आयुर्वेदिक औषधि प्रदेशका अस्पताल र आपूर्ति व्यवस्थापन केन्द्रमार्फत उपलब्ध गराइनेछ ।

सचिव थपलियाका अनुसार, यो प्रक्रियाले म्याद सकिने समस्या समाधान हुने र औषधि समयमै आपूर्ति हुने अपेक्षा गरिएको छ । यस सम्झौतामा १८ प्रतिशत छुटको व्यवस्था पनि छ, जसले अतिरिक्त औषधि खरिद गरेर अझ बढी सेवाग्राहीलाई सुविधा पुर्‍याउन सकिने मन्त्रालयको भनाइ छ ।

मन्त्री राईले सिंहदरबार वैद्यखानालाई “नेपालको गौरव” भन्दै टेन्डरको झन्झटमा नपरी सिधै सम्झौता गरिएको स्पष्ट पारे । उनले यस कदमले प्रदेशको आयुर्वेद स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यकारी निर्देशक डा। केसीले कोशी प्रदेशसँगको सहकार्यलाई ऐतिहासिक कदम बताउँदै यसले वैद्यखानाको उत्पादन विस्तार र आयुर्वेदिक औषधिको विश्वसनीयता थप मजबुत बनाउने टिप्पणी गरे । हाल वैद्यखानाले ५७ प्रकारका औषधि उत्पादन गर्दै आएको छ भने आगामी दिनमा यो संख्या ९० पुर्‍याउने लक्ष्य राखिएको छ ।

1

 

2

2

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *