काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित हुँदैछन्, तर आफ्नै दलभित्रको विभाजनका कारण उनी कठिनाइमा परेका छन्।
नेपाली कांग्रेसका ३७ सांसदमध्ये पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा पक्षका १४ जना सांसद सम्पर्कविहीन रहँदा बानियाँलाई आफ्नै दलबाट २३ मत मात्र प्राप्त हुने अनुमान छ। सत्ता साझेदार एमालेका २७ सांसदसहित कुल ५० मत भए पनि बहुमतका लागि आवश्यक ५६ मत पुग्दैन।
यही कारण बानियाँले प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग समर्थनका लागि पहल गरेका छन्। सभामुखसहित राप्रपाका १३ सांसद समर्थनमा आएमा उनको पद सुरक्षित हुने देखिन्छ। राप्रपाका संसदीय दलका नेता उद्धव थापाले समर्थनबारे छलफल भइरहेको जनाएका छन्।
मुख्यमन्त्री बानियाँले प्रदेशको विकास, सुशासन र स्थायित्वका लागि आफ्नो नेतृत्वमा सरकारलाई सहयोग गर्न सबै दलका सांसदलाई औपचारिक पत्रमार्फत आग्रह गरेका छन्। आज अपराह्न ४ बजे बस्ने बैठकमा विश्वासको मतको परिणाम टुंगिनेछ।




