देश

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त हुँदै, कांग्रेस–एमाले गठबन्धन सरकार आजै गठन हुने

काठमाडौं। बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गर्ने भएका छन्। मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि सोमबार बानियाँले ६४ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा बानियाँले बहुमत प्राप्त गरेपछि उनको नियुक्ति सुनिश्चित भएको हो। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम तय भएको छ ।

शपथपछि बानियाँले नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस र एमालेबीचको सत्ता साझेदारीअनुसार प्रारम्भिक चरणमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री सरकारमा सहभागी हुने सम्भावना छ।

एमालेले मन्त्री छनोटको अन्तिम तयारी गरिरहेको छ। पार्टीका प्रदेश अध्यक्ष कैलाश ढुंगेलका अनुसार आज दिउँसो १ बजेभित्र मन्त्रीहरूको टुंगो लाग्नेछ। एमालेले यसपटक अघिल्लो सरकारका मन्त्रीलाई नदोहोर्याउने र प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिने नीति लिएको छ।

मन्त्री दौडमा दोलखाका भरत केसी, ललितपुरका मधुसुदन पौडेल, काठमाडौंका जयराम थापा र समानुपातिक सांसद बिन्दु श्रेष्ठलगायतको नाम चर्चामा छ।

बागमती प्रदेशसभामा ११० सदस्य छन्। तीमध्ये कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *