राजनीति

एमालेको संशोधित विधान मस्यौदा सार्वजनिक : वरिष्ठ उपाध्यक्ष पद हटाउने, उमेर सीमा पनि हटाइने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष तथा विधान संशोधन समिति संयोजक विष्णुप्रसाद पौडेलले उक्त मस्यौदा पेश गरेका हुन्।

नयाँ प्रस्तावमा १९ सदस्यीय पदाधिकारी संख्यालाई घटाएर १५ जनामा सीमित गर्ने सुझाव छ। संशोधित संरचनाअनुसार वरिष्ठ उपाध्यक्ष पद हटाइनेछ भने अध्यक्ष, महासचिव, एक उपमहासचिव, पाँच उपाध्यक्ष र सात सचिव रहने व्यवस्था प्रस्ताव गरिएको छ।

यसबाहेक, केन्द्रीय कमिटीलाई २५१ सदस्यमा सीमित गर्ने, र त्यसको एक तिहाइ (८३ जना) पोलिटब्युरो सदस्य रहने प्रावधान पनि मस्यौदामा समावेश गरिएको छ। महत्त्वपूर्ण परिवर्तनको रूपमा सचिवालयको व्यवस्था हटाउँदै १५ सदस्यीय पदाधिकारी समूहलाई नै स्थायी कमिटीको रूपमा मान्ने प्रस्ताव गरिएको छ।

यसअघि पार्टी विधानमा रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा पनि संशोधन मस्यौदाबाट हटाइएको छ — जसले दीर्घकालीन नेतृत्वको बाटो खुला बनाउने संकेत देखिन्छ। पार्टीभित्र नेतृत्व संरचना, जिम्मेवारी र संगठनात्मक स्वरूपलाई थप सुदृढ गर्न यो मस्यौदा ल्याइएको नेताहरूको भनाइ छ।

uml bidhan masauda (2)_compressed

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *