देश

स्पेन भ्रमणमा जानेहरुको माग्यो सीआईबीले स्पेनी दूतावाससँग विवरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँगै उठेको विवादपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सक्रिय बनेको छ। फर्जी कागजातका आधारमा संयुक्त राष्ट्रसंघीय सम्मेलनका नाममा असम्बन्धित व्यक्तिहरू स्पेन पठाइएको आशंका गरिएको छ।

यही प्रकरणमा सीआईबीले दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गर्दै स्पेन गएका नेपालीहरूको विस्तृत विवरण मागेको छ। विशेष गरी भिजिट भिसा लिन पेस गरिएका कागजातबारे जानकारी मागिएको हो।

असार १६ देखि १९ सम्म स्पेनको सेभिल्लामा भएको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिए। तर, सोही भ्रमणको छायाँमा बिचौलियामार्फत फर्जी डकुमेन्ट प्रयोग गरी गैरसंबन्धित मानिसहरू स्पेन पुगेको आरोप लागेपछि संसदमा विरोध चर्कियो।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा असार ३१ मा एसएसपी होविन्द्र बोगटी नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले हालसम्म अध्यागमन विभाग, राहदानी विभाग, र बालुवाटारस्थित द्यीक् सेन्टरमार्फत भिजिट भिसा प्रक्रियाको विवरण संकलन गरिरहेको छ।

एक समितिका सदस्यका अनुसार, “४९ जना गएको भनिएको छ, तर यकिन संख्या स्पेनी दूतावासको जवाफपछि मात्र थाहा हुन्छ।” त्यस्तै, फर्जी कागजात भएको आशंकामा ५५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको समेत खुलेको छ।

प्रारम्भिक अनुसन्धानमा कतिपय व्यक्तिहरू गैरसरकारी संस्थाका प्रतिनिधिको रूपमा त्यहाँ पुगेको पाइएको छ। अब छानबिन समितिको ध्यान पासपोर्ट जारी हुँदा दिइएको विवरण र भिजिट भिसा आवेदन प्रक्रियामा केन्द्रित छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *